आकाशको संस्थाले ललितपुर शंखुस्थित मगर गाउँमा बनाईदियो विद्यालय


काठमाडौं । अभिनेता, निर्माता तथा निर्देशक आकाश अधिकारीले नेतृत्व गरेको संस्था आशाको ज्योति नेपालले ललितपुरको दुर्गम शंखुस्थित मगर गाउँमा रहेको कालीदेवी प्राथमिक विद्यालयको नयाँ भवन निर्माण गरिदिएको छ।

Aakash-Adhikari-3

ग्लोबल रिच इन्टरटेनमेन्टको सहकार्यमा आशाको ज्योतिले बनाइदिएको तीन कोठे भवनको सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले शनिवार उद्घाटन गरे । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेपछि आकाशको पहलमा नयाँ भवन निर्माण गरिएको हो । संस्थाका अध्यक्ष आकाशले भूकम्प पछि संस्थाले विभिन्न स्थानमा भूकम्प पीडितलाई राहत सामाग्री बाँडिरहेका बेला स्थानीय व्यक्तिहरुले आफुलाई सम्पर्क गरेपछि गाउँमा विद्यालय बनाइदिएको बताए । ‘हामी अब आगामी दिनमा अन्य भूकम्प प्रभावित क्षेत्रमा गएर २० वटा विद्यालय बनाइदिँदैछौं,’आकाशले भने,‘विद्यालय भवनको अभावमा विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएपछि हामीले भवन बनाइदियौं।’

Aakash-Adhikari-4

मन्त्री डा. रिजालले नेपालमा भूकम्प गएपछि सबैभन्दा बढी कलाकारहरु सक्रिय भईरहेकोमा खुशी व्यक्त गर्दै सरकारी तवरबाट पनि भूकम्प पीडितको पुनस्र्थापनाका लागि काम भईरहेको बताए । कार्यक्रममा हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र दीपाश्री निरौलाले कलाकारले भूकम्प पीडितहरुलाई गरेको सहयोगको स्मरण गर्दै कमेडी प्रस्तुत गरेर हँसाएका थिए।

ललितपुर क्षेत्र नम्बर १ का सभासद उदय राणाले आफ्नो क्षेत्रमा भएको भूकम्पबाट क्षतिलाई मूल्यांकन गर्दै राहतका लागि सरकारसँग पहल भईरहेको बताए । कार्यक्रममा मन्त्री डा. रिजाल, संस्थाका अध्यक्ष अधिकारीले विद्यालय व्यवस्थापन समितिलाई विद्यालय हस्तान्तरण गरेका थिए । संस्थाका अनुसार करिब नौ लाख रुपैंयाँको बजेटमा भवन निर्माण गरिएको थियो।

SUBSCRIBE 👉