म्यानहटनमा प्रस्तुत हुँदै नेपथ्य


काठमाडौं । साँगीतिक समूह नेपथ्य पहिलोपटक न्यूयोर्कमा प्रस्तुतिका निम्ति अमेरिका जाने भएको छ । यो समूहले म्यानहटनस्थिन ह्यामस्र्टेन बलरुममा सांगीतिक प्रस्तुति दिँदैछ । यसअघि ११ वर्ष पहिले एरिजोनाको फिनिक्समा आयोजित एएनए अधिवेशनमा नेपथ्य टोलीले आफूलाई अमेरिकामा पहिलोपटक प्रस्तुत गरेको थियो ।

‘यसपटक नेपथ्य न्यूयोर्कको म्यानहटन सेन्टरस्थित ह्यामस्र्टेन बलरुममा प्रस्तुत हुँदैछ,’ नेपथ्यको प्रवद्र्धन एवं व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘अगस्तको २९ तारिख म्यानहटन ३४औं स्ट्रीटमा नेपथ्य भाका गुञ्जनेछन् ।’ ३५ सय दर्शक क्षमताको न्यूयोर्ककै पुरानो प्रतिष्ठा आर्जित हलमा कन्सर्टका निम्ति म्यानहटन सेन्टर बक्सअफिसको काउन्टरमा नेपथ्यको टिकट विक्री सुरुभइसकेको छ ।
Nepathay Amrit Gurung‘जुन हलमा कुनै समय विश्वसंगीतकै प्रतिकपुरुष बब मार्ली र डेभिड बवी उभिएर गाइसकेका छन्, त्यसै स्थानमा आफूलाई प्रस्तुत गर्ने तयारीले मलाई उत्साहित बनाएको छ,’ टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘समयले साथ दिएको भए त्यही हलमा लगत्तै सेप्टेम्बरमा आयोजना हुने अर्का हस्ती रोबर्ट प्लान्टको कन्सर्ट म छुटाउँदिन थिएँ ।’

यसअघि टोलीले साँगीतिक प्रस्तुतीका निम्ति अष्ट्रेलिया, टोकियो, दुबई र बेलायतको भ्रमण गरिसकेको छ । बितेको २३ वर्षदेखि हरेक नेपाली पुस्ताका ढुकढुकीको आवाज बन्दै आएको नेपथ्यलाई सुन्न ठूलो संख्यामा नेपाली बसोबास रहेको अमेरिकामा पटकपटक अनुरोधहरु आएका थिए । ‘मलाई सामाजिक सञ्जालहरुमा अमेरिकावासी मेरा धेरै श्रोताहरुले जिज्ञासा राख्दै आएका थिए,’ गायक गुरुङ भन्छन्, ‘बल्ल भेटघाटको जोग जुरेको बेला ति तमाम साथीहरुसँग अविष्मरणीय साँझ बिताउन म आतुर छु ।’

अमेरिकाको साँगीतिक यात्रालाई नेपथ्यले ‘म्यूजिक फर युनिटी’ (एकताको निम्ति संगीत) नाम दिएको छ । अमृतलाई सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

SUBSCRIBE 👉