काठमाडौं । फिल्म क्षेत्रकै प्रतिष्ठित अवार्डमध्येको एक एनएफडीसी राष्ट्रिय फिल्म पुरस्कारको तेश्रो संस्करणमा सर्वाधिक ५ विधा, नेफ्टा अवार्डमा २ विधाँंगै अन्य अवार्डका लागि थुप्रै विधामा मनोनित भएको बर्ष २०७१ को हिट फिल्म ‘नोभेम्बर रेन’ युनिटले निर्माण गर्न लागेको नयाँ फिल्म ‘क्लासिक’ को शनिबारबाट छायांकन सुरु भएको छ ।
राजधानीको चोभारस्थित गणेशमन्दिरमा फिल्म युनिटले पूजाआजा गर्दै मुर्हत गर्दै छायांकन शुरु गरेको हो । पहिलो दिन भगवान गणेश सत्संगसहित फिल्ममा आर्यन सिग्देलको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेका नव बालकलाकार सुमित मानन्धर र नम्रता श्रेष्ठको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेकी बालकलाकार सेमिना कोईरालाको सट खिचिएको थियो।
सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसँगको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । अभिनयसँगै फिल्म निर्माणमा समेत हात हालेका अभिनेता आर्यनले लामो समयको प्रतिक्षा पश्चात फिल्म फ्लोरमा गएकोमा खुशी ब्यक्त गरे । ‘बैशाखमै सुटिङको तयारीमा रहँदा भूकम्प गयो, भूकम्पले देश नै अस्थिर भएको अवास्थामा ’क्लासिक’लाई अगाडी बढाउन सकिएन,आज त्यो प्रतिक्षाको घडी आएको छ ।’ उनले भने ।
यसो त आर्यन बैशाख पछाडी अन्य केहि फिल्ममा ब्यस्त भएतापनि आफ्नै होम ब्यानर ’नोभेम्बर रेन’को सफलताले ‘क्लासिक’ निर्माण हुदै गर्दा उनमा उत्सुकता बढेको हो । ’मेरो एउटा साथी छ’ मार्फत दर्शकको मनमनमा बस्न सफल आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी ’नोभेम्बर रेन’ पश्च्यात सबैभन्दा उत्कृष्ट सिने जोडीको रुपमा स्थापित छन् । ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता व्यावसायिक सफल फिल्म दर्शकलाई पस्किसकेका निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुदै गरेको म्युजिकल लवस्टोरी वेश फिल्ममा ‘नोभेम्बर रेन’ जोडी पुनः दोहोरिदै छन् । निर्देशक राउतले फिल्म सांगीतिक प्रेमकथामा आधारित रहेको बताए । ‘दृष्टिबिहिन पात्रको सांगीतिक लगाव, उसको जीवनका उतारचढाव, मायाप्रेम, त्याग आदि कुरालाई फिल्मले पर्दार्पण गर्ने छ ।’ उनले भने ।
चर्चित ब्यबसायी सुवास गिरीको लगानीमा कमल गिरीको निर्माण सहयोग रहने फिल्ममा आर्यन सिग्देल(समय) र नम्रता श्रेष्ठ(दृष्टी)को भूमिकामा रहेका छन् । फिल्ममा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, बिश्व बस्नेत लगायतका कलाकारको मुख्य अभिनय रहने छ । यसअघि ‘नोभेम्बर रेन’मा उत्कृष्ट संगीत भरेका ताराप्रकाश लिम्बुकै संगीत रहेको यस फिल्ममा निकै नै कर्णप्रिय संगीत रहेको संगीतकार लिम्बुको भनाई छ । डा. कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको शब्द रहेका गीतमा कोशिस क्षेत्री, यूवराज चौलागाई र मेलिना राईको आवाज सुन्न पाइने छ ।
पब्लिसिटी डिजाइनर शान थापाको सह–निर्देशनमा, एसोसियट निर्देशक विकास सुवेदी र मुख्य–सहायक निर्देशक दिनेश रावत रहने फिल्ममा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहनेछ । फिल्म आउँदो प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शन गर्ने फिल्म युनिटले जनाएको छ ।
