दृस्टी गुमाएकी सृष्टिको जीवनीमा चलचित्र “ब्लाइन्ड रक्स्” निर्माण हुने


राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र “ब्लाइन्ड रक्स्” को घोषणा गरिएको छ। चलचित्रलाई निर्देशक मिलन चाम्स्ले निर्देशन गर्दैछन्। यस अघि निर्देशक चाम्स्ले चलचित्र ‘हसियाँ’ निर्देशन गरेका थिय भने उनकै निर्देशनमा बनेको पछिल्लो चलचित्र “वीर विक्रम” विदेशका केहि स्थानहरुमा प्रिमिएर सो गरिसकिएको छ भने नेपालमा भदौ ३ गते देखि रिलिज हुँदै छ। “ब्लाइन्ड रक्स्”मा निकेश लिम्बुको लगानी रहने छ भने छायाँकन नेपाल र भारतमा हुने बताईएको छ।

Milan-Chams-Blind-Rocks

चिकिस्त्सकको लापरवाहीका कारण आँखाको ज्योति गुमाएकी सृष्टि केसीको जीवन कथामा चलचित्र “ब्लाइन्ड रक्स्” निर्माण हुन लागेको हो। चलचित्रमा सृष्टिको भूमिका नायिका वेनिशा हमालले निभाउने भएकी छिन्। चलचित्रमा वेनिशा सँगै अर्पण थापा, नाजिर हुसेन, गौरी मल्ल, प्रज्वल सुजल गिरी, शिशिर राणा र दीपक गुरुङ लगायतले अभिनय गर्ने भएका छन्।

चलचित्रमा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन र यम थापाको कथा रहनेछ।

Benisha-Hamal-Shristi-KC-Blind-Rocks

को हुन् सृष्टि केसी ?
सानैदेखि नाच्ने, गाउने, लेख्ने स्वभावकी सृष्टि केसी आफ्ना आँखाको ज्योति बन्द हुनुअघि नै रेडियो नेपालमा बाल कार्यक्रम चलाउँथिन्, रेडियो नाटक खेलिसकेकी थिइन्। उनले दृष्टिबिहिन बनेपछि एसएलसी प्रथम श्रेणीमा, प्रमाणपत्र तहमा कलेज टप र स्नातक तहमा नेपाली विषयमा नेपाल टप गरेकी छिन्।

हाल उनी युरोपमा अभिनय र नृत्या दुई वर्षे कोर्स लिइरहेकी छिन्। बेलायत, नर्वेलगायत चार देशमा हुने पढाईमा उनी पहिलो नेपाली दृष्टिविहिन हुन् भने सो विश्वविद्यालयमा भएका विद्यार्थीमध्ये एकमात्र दृष्टिविहिन हुन्। उनले यसअघि नै भारतको केरलामा सात महिना क्षमता अभिवृद्धिको तालिम लिइसकेकी छिन्।

उनकै सक्रियतामा ‘ब्लाइन्ड रक्स’ नामक संस्था सञ्चालनमा छ। उनी यसै संस्थाबाट उनी आफूजस्तै दृष्टिविहिनहरुका लागि फेसन, नृत्य, हाउभाउको तालिम दिन्छिन्, जीवनमा समस्यालाई पन्छाउँदै कसरी अगाडि बढ्ने ‘मोटिभेसनल स्पिच’ दिन्छिन।

यसरी गुम्यो सृष्टिको आँखाको ज्योति :
कक्षा आठ पढ्दा पढ्दै विस्तारै उनको आँखाले घाम सहन नसक्ने भयो। उनका आँखा चिलाइरहन्थे। उनले लायन्स क्लबमा आँखा परिक्षेण गराऊदा चिकित्सकले ‘एलर्जी’ भएको बताए र केही औषधि दिए। अप्रेसन पनि गरे। अप्रेसन गरेपछि आँखाको ज्योति घटबढ हुन थाल्यो र अन्तत: आँखाको ज्योति फेरि फर्किएन। उनले पछि मात्र थाहा पाइन्, उनको आँखाको उपचार गरिरहेका चिकित्सकको लापरवाहीका कारण उनले आफ्नो आँखाको ज्योति गुमाएकी रहिछिन्।

SUBSCRIBE 👉