नायक अनमोल केसीको नयाँ चलचित्र ‘कृ’ फागुणको पहिलो साताबाट छायांकनमा जान लागेको छ। छायाँकनमा जानु अघि नै निर्माण युनिटले प्रदर्शन मिति समेत तय गरेको छ। चलचित्रका निर्माता सुवास गिरीले आउँदो बर्षको भदौ १६ गतेबाट यो चलचित्र देशभर रिलिज हुने बताएका छन्। उनले भने–‘हामीले छायांकन अगावै प्रदर्शन मिति तय गरेका छौ। भदौमा पर्ने विभिन्न सार्वजनिक बिदा र दशैलाई लक्षित गरेर भदौ १६ लाई प्रदर्शन मिति तय गरिएको हो।’
सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन्। चलचित्रमा सुवास गिरी र नायक भूवन केसीले लगानी गरेका छन्। चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन्।
चलचित्रमा नायक अनमोल केसी र नव नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहनेछ। यहि, चलचित्रका लागि नायक केसी अहिले शरीर बनाउन लागिपरेका छन्। गत जेठ २८ गते अनमोल अभिनित चलचित्र ‘गाजलु’ रिलिज भएको थियो। त्यसको करिब १५ महिनापछि अनमोलको नयाँ चलचित्र रिलिज हुने सम्भावना भएको छ।
भिडियो हेर्नुहोस् : यी हुन् अनमोलको नयाँ नायिका अदिति बुढाथोकी