हप्तौँ लामो ‘वर्कसप’ र फ्लोरमा जाने निश्चितता भएपछि फिल्म निर्माण कम्पनि पपुलर मल्टिमिडियाले फिल्म ‘लम्फू’को औपचारिक निर्माण घोषणा साथै ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गरेको छ। फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्ने भएका छन्।
शक्तिवल्दव घोरासिनीको लगानीमा निर्माण हुन लागेको फिल्ममा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहने छ। यो फिल्मबाट कबिर खड्का डेब्यु गर्दैछन्।
सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा फिल्मले बोल्नेछ। यो फिल्ममा अर्जुन पोखरेलको संगीत, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने को नृत्य निर्देशन, पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन, दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ। फिल्ममा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द छन्।
४० दिन भित्र छायाँकनको सम्पूर्ण काम सक्ने लक्ष्य निर्माण टिमले राखेको छ। फिल्म यसै साताबाट फ्लोरमा जाँदैछ भने पश्चिम नेपालको पर्वत र काठमाडौंमा खिचिनेछ।
पपुलर मल्टिमिडियाको ब्यानरबाट यसअघि फिल्महरु ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण भईसकेका छन् भने पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ‘ओ माइ म्यान’ नामक लघु फिल्म पनि निर्माण गरिसकेको छ।