ग्ल्यामर नेपाल, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई नेपाली फिल्म प्रति सकारात्मक र सहयोगी नेताका रुपमा परिचित छन्। उनी अर्थमन्त्री भएको बेला चलचित्र विकास बोर्डको कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका थिए। अहिले उनी सत्तामा त छैनन् तर फिल्मका गतिविधिप्रति उनको चासो कायमै छ।
यसै परिप्रेक्ष्यमा उनले निजी तवरबाट ललितपुरको एक होटलमा फिल्मकर्मी भेला गराई बन्न लागेको नयाँ संविधानमा फिल्मकर्मीका कुरालाई सम्बोधन गर्न वृहत छलफल गरेका छन्। उनले बोलाएको भेलामा वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेता श्रीकृष्ण श्रेष्ठ, कृष्ण मल्ल, शिवहरि पौड्याल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्कालगायतका दर्जन बढी कलाकारको उपस्थिति रहेको थियो।
डा. भट्टराईले आफ्नो फेसबुक पेजमा भेलाबाट प्राप्त सुझावलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन्। जसअनुसार नयाँ संविधानमा राज्यको निर्देशक सिद्धान्तमा फिल्म र सांस्कृतिक क्षेत्रको विकास नीतिबारे उल्लेख हुनुपर्ने, राष्ट्रिय फिल्म नीति छिटो पारित र लागू हुनुपर्ने, विदेशस्थित नेपाली दूतावासहरुमा सांस्कृतिक सहचारीको व्यवस्था हुनुपर्ने, रंगमञ्च र नाट्यकलाको प्रवर्धनका लागि राज्यले विशेष अनुदानको व्यवस्था गर्नु पर्ने रहेका छन्।
यस्तै नेपालमा हुने विदेशी वस्तुको विज्ञापनमा नेपाली कलाकार नै प्रयोग हुनुपर्ने, कलाकार र खेलाडीहरुलाई विशेष पासपोर्टको व्यवस्था हुनुपर्ने, विदेशका नेपालीभाषी क्षेत्रहरुमा नेपाली फिल्म निर्यातको विशेष पहल हुनुपर्ने, अभिनय र फिल्म निर्माण सम्वन्धी अध्ययन तथा तालिमका लागि छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, देशमा फिल्मपर्यटनको प्रवर्धन गर्नुपर्ने, नेपाली फिल्मको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न राज्यले विशेष संरक्षणको नीति लिनुपर्ने र कलाकारलाई गहना होइन सांस्कृतिक मेरुदण्डको रुपमा ग्रहण गर्नुपर्ने बुँदा उनले सुझावका रुपमा लिएका छन्।
