ग्ल्यामर नेपाल, काठमाडौं । अनुशासन भंग गरेको भन्दै ‘दोस्रो इण्डियन आइडल’ प्रशान्त तामाङलाई उनी कार्यरत संस्था कलकत्ता पुलिसले जागिरबाट निलम्बन गरेको छ । कलकत्ता प्रहरीमा जवानका रुपमा कार्यरत तामाङ १९९४३ नम्बरका जवान थिए।
बंगालबाट प्रकाशित हुने एक पत्रिकाका अनुसार प्रशान्त सन् २००९ देखि २०१४ सम्ममा १८ सय ७० दिन कार्यालयमा हाजिर भएका थिएनन्। जसकारण गत जुन १३ मा विभागीय अधिकारीले प्रशान्तलाई कारण देखाऊ आदेश जारी गरेका थिए।
बाल्यकालदेखि नै संगीत क्षेत्रमा रुची राख्ने प्रशान्तले पुलिसमा भर्ना भएपछि पनि आफ्नो रुचीलाई त्यसै बिलाउन दिएनन्। उनको यही प्रतिभालाई बुझेको कलकत्ता प्रहरीले प्रशान्तलाई कलकत्ता पुलिसको अर्केष्ट्रा व्याण्डमा सामेल गरेको थियो। यसै क्रममा उनले सन् २००७ मा ‘इण्डियन आइडल’मा सहभागिता जनाएका थिए र उपाधि पनि जितेका थिए। उनलाई जिताउन नेपाललगायत विश्वमाझ रहेका नेपालीले एसएमएस भोटिङ गरेका थिए।
दार्जिलिङको तुङसुङमा जन्मिएका तामाङ प्रहरीमा कार्यरत उनका बुवा मदन तामाङको निधनपश्चात त्यही प्रहरीमै भर्ना भएका थिए। इण्डियन आइडल बनेपछि उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’, ‘अंगालो यो मायाको’ र ‘किन मायामा’ फिल्ममा अभिनय गरेका थिए भने केही म्युजिक भिडियोमा मोडलिङ गरेका छन्।