प्रचारसँगै डबिङमा नाईके


Rem-BK
ग्ल्यामर नेपाल, काठमाडौं । द ब्ल्याक स्याडो प्रोडक्सनको व्यानरमा निर्मित फिल्म ‘नाईके’ युनिट फिल्मको प्रचारप्रसारसँगै डबिङको काममा पनि जुटेको छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको फिल्मको राजधानीस्थित अनामनगरमा रहेको एफडी स्टुडियोमा धमाधम डबिङ भइरहेको छ ।

गत सोमबारबाट शुरु भएको डबिङमा फिल्मका अभिनेता आर्यन सिग्देल र अर्का नायक रेम विकले स्वरांकन गरिसकेका छन्। निर्देशक नेत्र गुरुङले फिल्मले ग्याङस्टारका आत्मव्यथा, उसलाई हेर्ने सामाजिक नजर, देशको राजनीतिक चलखेल, भावनात्मक सम्बन्धका किस्सा र विभिन्न सामाजिक परिवेशलाई समेटेको बताए । ‘आर्यन सिग्देललाई यो फिल्ममा नितान्त भिन्न रुपमा प्रस्तुत गरेका छौं ।’ फिल्मका लेखकसमेत रहेका गुरुङले भने ।

बोधराज रेग्मी, सुरबिना कार्की, सारिका केसी, विजयराज सेन्चुरी, विकास बास्तोला, कृष्ण उदासी लगायतको अभिनय रहेको फिल्मको सुटिङ पोखरामा गरिएको हो । सानुकुमार महर्जनको द्वन्द्व, रामप्रकाश लिम्बु, रमण गायक र योगेश काजी बिसीको संगीत रहेको फिल्ममा अर्जुन तिवारीको छायांकन रहेको छ ।

SUBSCRIBE 👉