रेखा थापा र बेनिशा हमाल एकै प्रोजेक्टमा: ‘सेतो धरती’ नाटकको तयारी पूरा

मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’मा आधारित नाटक चैत २७ गतेदेखि मञ्चन हुँदैछ। रेखा थापा निर्माता बनेकी छन् भने बेनिशा हमालले रंगमञ्चमा डेब्यू गर्दैछिन्।


नेपाली साहित्यको चर्चित कृति ‘सेतो धरती’ अब रंगमञ्चमा जीवन्त हुने भएको छ। कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा तयार भएको यो नाटक आगामी चैत २७ गतेदेखि मञ्चनमा आउने भएको छ।

मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित यस नाटकमा अभिनेत्री बेनिशा हमालले पहिलो पटक रंगमञ्चमा पाइला राख्दैछिन्। उनको यो डेब्यूलाई दर्शक र रंगमञ्च वृत्तमा निकै चासोका साथ हेरिएको छ।

नाटकमा अर्को ठूलो आकर्षणका रूपमा रेखा थापा निर्माता भएर जोडिएकी छन्। फिल्म क्षेत्रमा स्थापित नाम बनेकी रेखाको यो थिएटर प्रोजेक्टले नाटकप्रति दर्शकको उत्साह थप बढाएको छ।

सार्वजनिक पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम प्रमुख रूपमा राखिएको छ। निर्देशक धितालले यसअघि ‘मीरा’ नाटक निर्देशन गरेका थिए, जुन रेखा थापाकै रंगमञ्च डेब्यू थियो।


छोटो फिल्म हेर्नुहोस्: अभिनेत्री बेनिशा हमालको ‘मिसिङ ब्राइड’


हाल धमाधम रिहर्सल भइरहेको ‘सेतो धरती’मा बेनिशासहित ३० भन्दा बढी कलाकारहरू एकैपटक मञ्चमा देखिनेछन्। फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरूको मिश्रणले नाटकलाई भव्य बनाउने अपेक्षा गरिएको छ।

‘सेतो धरती’ नेपाली साहित्यमा अत्यन्तै लोकप्रिय उपन्यास हो, जसले बालविवाह, सामाजिक संरचना र महिलाको जीवन संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गर्छ। यही कारणले यसको नाट्य रूपान्तरणलाई साहित्यप्रेमी र रंगमञ्च दर्शक दुवैले उच्च अपेक्षाका साथ पर्खिरहेका छन्।

यसअघि कान्तिपुर थिएटरले ‘मीरा’ र ‘शिरीषको फूल’ जस्ता चर्चित कृतिहरूलाई रंगमञ्चमा उतारिसकेको छ। अब ‘सेतो धरती’ले त्यो परम्परालाई निरन्तरता दिनेछ।

कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीका अनुसार, साहित्य, सिनेमा र रंगमञ्चलाई जोड्ने लक्ष्यसहित यस्तो प्रयास भइरहेको हो।

नाटक चैत २७ गतेदेखि वैशाख १९ गतेसम्म मञ्चन हुनेछ। बुधबार बाहेक हरेक दिन साँझ ५:१५ बजे शो हुनेछ भने शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १:१५ बजे अतिरिक्त शो पनि राखिएको छ।


यो पनि पढ्नुहोस्:
चार मिस नेपाल सहितको रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’ सुटिङ सकियो तीजमा रिलिज हुने तयारी


SUBSCRIBE 👉