
नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी सुहाना थापा एउटै फिल्ममा देखिने भएका छन्। ‘बाः एक योद्धा’ नामक चलचित्रमा यी चर्चित आमा–छोरी मुख्य भूमिकामा देखिदै छन्।
यस चलचित्रमार्फत चर्चित संगीतकार हरि लम्साल निर्देशकको रूपमा डेब्यु गर्दैछन्। लामो समयदेखि संगीत क्षेत्रमा सफल यात्रा गरेका लम्सालले यस फिल्मको कथा र पटकथा समेत आफैंले तयार पारेका छन्।
फिल्मको छायांकन गत चैत ९ गते पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सुरु गरिएको थियो। विगत दुई सातादेखि छायांकन भइरहेको फिल्मको कलाकारबारे निर्माण टिमले सुरुवातमा गोप्य राखेको थियो। अहिले भने काठमाडौंका विभिन्न स्थानमा सुटिङ भइरहेको छ, जहाँ झरना र सुहाना एकसाथ क्यामेरामा देखिन थालेका छन्।
‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले समाजको गहिरो भावनात्मक कथालाई उठान गर्ने लक्ष्य राखेको छ। शीर्षकले नै संकेत गरेझैँ ‘बाः एक योद्धा’ले नेपाली परिवारमा बाबुको भूमिका र संघर्षलाई केन्द्रमा राख्छ। आफ्नो सन्तानको भविष्यका लागि एक बाबुले गर्ने त्याग, जिम्मेवारी र जीवनभरको संघर्षलाई ‘योद्धा’को रूपमा चित्रण गरिएको छ।
ग्रामीण जीवनदेखि सहरी परिवेशसम्म फैलिएको कथामा बाबु र आफ्नो सन्तानबीचको भावनात्मक सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने तयारी गरिएको छ। निर्माण टिमका अनुसार यो शुद्ध सामाजिक र भावनात्मक फिल्म हुनेछ, जसले सबै पुस्ताका दर्शकलाई जोड्ने विश्वास लिइएको छ।
चलचित्रका निर्माता वसन्त लम्साल हुन्, जसले यसअघि विपिन कार्कीलाई लिएर ‘कर्मा’ निर्माण गरेका थिए। छायांकन शिवराम श्रेष्ठ ले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन्।
फिल्मको सम्पूर्ण छायांकन सकिएपछि पोस्ट–प्रोडक्सन कार्य हेरेर मात्र प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ। आमा–छोरीको पहिलो सहकार्य र भावनात्मक कथावस्तुका कारण ‘बाः एक योद्धा’ अहिले नै चर्चामा आएको छ।
यो पनि पढ्नुहोस्: एक्सन फिल्म ‘एक्का तीन’मा पुष्प खड्का र पूजा शर्माको जोडी
