बालेनको १२ वर्ष पुरानो गीत विवादमा: युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी

बालेन्द्र शाह (बालेन) को १२ वर्ष पुरानो र्‍याप गीत युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। उजुरीमा गीतमा महिला र लैंगिक अल्पसंख्यक समुदायविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको दाबी गरिएको छ।


गायक समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप गीत विवादमा परेको छ। करिब १२ वर्षअघि गाइएको उक्त गीत युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ।

उक्त गीत हिपहप कार्यक्रम ‘Raw Barz’मा प्रस्तुत गरिएको थियो, जसलाई पछि ‘सङ्स नेपाल’ लगायतका युट्युब च्यानलहरूले अपलोड गरेका थिए। पछिल्लो समय बालेनको राजनीतिक उदयसँगै सो भिडियो पुनः भाइरल बनेको छ।

साइबर ब्यूरोका अनुसार, गीतमा प्रयोग भएका शब्दहरू महिला विरोधी र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति घृणा फैलाउने खालका रहेको दाबी गर्दै उजुरी परेको हो।

विवेक मगर, रोजी पुन, महिन्द्रसिंह दनुवार र पवन राई (बाबु) ले संयुक्त रूपमा दिएको उजुरीमा ‘सङ्स नेपाल’ युट्युब च्यानलबाट उक्त भिडियो हटाउन माग गरिएको छ। उजुरीमा २० मिनेट १४ सेकेन्ड लामो भिडियोको लिंकसहित विवरण प्रस्तुत गरिएको छ, जहाँ बालेनले प्रयोग गरेका शब्दहरू आपत्तिजनक रहेको उल्लेख गरिएको छ।

उजुरीमा आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न पनि माग गरिएको छ।

करिब एक दशकअघि यमबुद्ध लगायतका हिपहप कलाकारहरूले नेपहप प्रवर्द्धनका लागि ‘Raw Barz’ कार्यक्रम आयोजना गरेका थिए। सोही कार्यक्रममा बालेनले आफ्नो र्‍याप प्रस्तुत गरेका थिए।

त्यतिबेला सामान्य रूपमा प्रस्तुत भएको सामग्री अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बन्दै विवादको केन्द्रमा पुगेको देखिन्छ।

१२ वर्षअघिको बालेनको र्‍याप भिडियो गीत हेर्नुहोस्।

SUBSCRIBE 👉