
Prakash Saput is starring in Nepali movie “Paral Ko Aago,” which is based the classic literary story by Guru Prasad Mainali
नेपाली दर्शक तथा स्रोतामाझ स्थापित नाम प्रकाश सपुत अब अभिनयमा पनि मजबुत उपस्थितिसहित अघि बढिरहेका छन्। ‘परदेशी २’, ‘पूर्ण बहादुरको साराङ्गी’ र ‘माइतीघर’ जस्ता फिल्मबाट आफूलाई प्रमाणित गरिसकेका उनी नयाँ फिल्म परालको आगो मार्फत थप फरक र गहिरो भूमिकामा देखिएका छन्।
यस फिल्ममा उनले ‘चामे’ नामको पात्र निर्वाह गरेका छन्, जसलाई उनले निकै सशक्त रूपमा प्रस्तुत गरेको देखिन्छ। प्रकाश आफै पनि यस भूमिकाप्रति निकै आशावादी छन् र यसले आफ्नो अभिनय यात्रामा नयाँ मोड ल्याउने विश्वास व्यक्त गर्छन्।
ट्रेलर हेर्दा उनको अभिनयको दायरा अझ फराकिलो भएको महसुस हुन्छ। यसपटक उनले सामान्यभन्दा फरक कथा र पात्रमा काम गरेका छन्। जहाँ भावनात्मक उतारचढाव, सम्बन्धको तनाव र आन्तरिक द्वन्द्व स्पष्ट देखिन्छ।
फिल्मको एक रोचक प्रसंग सुनाउँदै प्रकाश भन्छन्, “मैले भैसी कुट्ने सिन गर्नुपर्ने थियो, तर म सहज हुन सकिरहेको थिइनँ।” यस्तो संवेदनशील दृश्य गर्दा पशुलाई असर नपरोस् र सिन पनि प्रभावकारी देखियोस् भन्ने दबाब रहेको उनी बताउँछन्। यही बेला सुहाना थापा ले उनलाई दृश्यलाई कसरी सन्तुलनमा राख्ने भन्नेबारे सहयोग गरेकी थिइन्।
“सिनमा वास्तविकता पनि आओस् र भैसीलाई केही नहोस् भन्ने कुरा मिलाउन अलिक गाह्रो भयो, तर सुहानाले सिकाउनु भयो,” उनले सुटिङको अनुभव सुनाए।
‘परालको आगो’ को ट्रेलर हेर्न यहाँ किल्क गर्नुहोस्
‘Paralko Aago’ Trailer, A Powerful Story of Love, Marriage & Reality
प्रकाशका अनुसार ‘परालको आगो’ भन्नेबित्तिकै पति–पत्नीबीचको सम्बन्ध, झगडा र भावनात्मक उतारचढावको कथा सम्झना आउँछ। यही सम्बन्धको जटिलतालाई फिल्मले मुख्य रूपमा प्रस्तुत गरेको छ।
अर्काको साहित्यिक कृतिमा आधारित कथामा अभिनय गर्नु चुनौतीपूर्ण भए पनि उनले त्यो चुनौतीलाई आत्मसात गरेका छन्। यसले उनको अभिनय क्षमतामा थप निखार ल्याएको देखिन्छ।
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको पनि अभिनय रहेको छ।
‘परालको आगो’ले सम्बन्ध, प्रेम र समझदारीको कथा नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ र यसमा प्रकाश सपुत को भूमिका केन्द्रमै रहने देखिन्छ।
यो पनि पढ्नुहोस्:
सामाजिक सञ्जालकी स्टार अब ठूलो पर्दामा, जिग्री र काकुको नयाँ फिल्ममा प्रशंसाको इन्ट्री
