
४३ वर्षअघि प्रदर्शन भएको नेपाली चलचित्र ‘जीवनरेखा’ नारायणघाटस्थित जलमा हलमा विशेष रूपमा प्रदर्शन गरिएको छ। शिव श्रेष्ठ फाउन्डेशनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्य तथा लायन्स क्लब चितवनको व्यवस्थापनमा आयोजित कार्यक्रममा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा डिजिटल सिनेमा नेपाल (डीसीएन) ले पनि सहकार्य गरेको थियो।
प्रकाश थापाको निर्देशनमा बनेको ‘जीवनरेखा’ नेपाली चलचित्र इतिहासको महत्वपूर्ण कृतिमध्ये एक मानिन्छ। पुराना नेपाली चलचित्र संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्र विकास बोर्डले सुरु गर्न लागेको ‘ओल्ड इज गोल्ड’ अभियानको स्याम्पल टेस्टका रूपमा यो विशेष प्रदर्शन गरिएको बोर्डले जनाएको छ।
यस अभियानअन्तर्गत ३० वर्षभन्दा अघि प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने योजना रहेको छ। चलचित्र विकास बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड नेपाली चलचित्र डिजिटाइज गरिसकेको छ भने थप १० वटा ऐतिहासिक तथा साहित्यिक महत्वका चलचित्र डिजिटाइज गर्ने तयारी भइरहेको जानकारी दिएको छ।

बोर्डका अनुसार यो अभियान केवल अभिलेख संरक्षणमा सीमित नरही पुराना चलचित्रलाई पुनः दर्शकमाझ पुर्याउने प्रयास हो। पुरानो पुस्ताले सम्झनामा राखेका क्लासिक चलचित्र नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य अभियानको मुख्य लक्ष्य रहेको बताइएको छ।
विशेष प्रदर्शन कार्यक्रममा विशिष्ट कलाकार नीर शाह, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, अभिनेता शिव श्रेष्ठ, पूर्व बोर्ड सदस्य तथा चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, चलचित्रकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारीलगायतको उपस्थिति रहेको थियो।
‘जीवनरेखा’मा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुषाल, गोपालराज मैनाली तथा हरिवंश आचार्यलगायत कलाकारहरूको अभिनय रहेको छ।
यो पनि पढ्नुहोस् : टंक बुढाथोकीको ‘मन विनाको धन २’मा अभिनेत्री पूजा शर्मा फाइनल
