
द हिडन ट्रेजरले प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ। बुधबार पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले आगामी संस्करणबारे औपचारिक जानकारी दिएको हो।
आयोजकका अनुसार नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीहरूले प्रतियोगितामा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २५ (जुन ८) सम्म तोकिएको छ भने आवेदन प्रक्रिया निःशुल्क रहनेछ।
यस वर्षको ‘मिस नेपाल २०२६’ को ग्राण्ड फिनाले साउन १६ (अगस्ट १) मा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ। कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा यस वर्ष ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल कोस्मो’ र ‘मिस नेपाल इन्टरनेशनल’ गरी तीन मुख्य विधामा विजेता छनोट गरिनेछ । सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्ने व्यवस्था गरिएको छ।
विदेशमा रहेका नेपाली युवतीहरूले गृह मन्त्रालयबाट जारी गरिएको एनआरएन कार्डका आधारमा पनि आवेदन दिन सक्ने आयोजकले स्पष्ट पारेको छ।
प्रतियोगिताअन्तर्गत विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा अडिसन सञ्चालन गरिनेछ । साथै काठमाडौंका १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन’ अभियान पनि चलाइने भएको छ । अन्तिम अडिसन जेठ २६ (जुन ९) मा काठमाडौंमा हुनेछ।
छनोट भएका प्रतियोगीहरूले ग्राण्ड फिनालेअघि विभिन्न प्रशिक्षण, व्यक्तित्व विकास तथा ग्रुमिङ सेसनमा सहभागी हुनेछन्।

यसपटक प्रतियोगिताको संरचनामा केही परिवर्तन गरिएको पनि आयोजकले जनाएको छ । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार अब अन्तिम ३० प्रतियोगीलाई प्रश्न सोधिने छैन । केवल उत्कृष्ट ५ प्रतियोगीले मात्र प्रश्नोत्तर राउन्डमा भाग लिनेछन्।
फिनालेमा मिस कोस्मोका सीईओसहित विभिन्न अन्तर्राष्ट्रिय अतिथिहरू काठमाडौं आउने तयारी भइरहेको पनि उनले जानकारी दिए।
द हिडन ट्रेजरले पछिल्ला वर्षहरूमा नेपाली प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेका उपलब्धिहरूबारे पनि चर्चा गरेको छ । वर्तमान मिस नेपाल वर्ल्ड लुना लुइँटेलले ‘मिस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । यस्तै मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी, मिस नेपाल अर्थ २०२५ सोनी घले र मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
यस वर्ष ‘मिस नेपाल २०२६’ को थिम ‘Top of the World’ राखिएको छ । कजारिया रमेश टाइल्स लिमिटेड मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेलर्स सह–प्रायोजकका रूपमा आबद्ध रहेका छन्।
