
काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड मा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले सर्वाधिक अवार्ड जित्दै मुख्य आकर्षण बनेको छ। ऊनको स्वीटर उत्कृष्ट फिचर फिल्म घोषित हुदै सोही चलचित्रबाट विपिन कार्की उत्कृष्ट अभिनेता तथा नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए।
यस्तै जेरी अन टप बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन्। अभिनेता पल शाह लाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरियो।
कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गरे भने उदीयमान चलचित्र निर्माता तथा वितरक अवार्ड आशिष तामाङ लाई प्रदान गरियो। उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जित्यो। त्यसैगरी ‘कर्णाली भिजनरी अवार्ड’बाट सन्तोष सेन सम्मानित भए।

आफ्नो करियरकै पहिलो अवार्ड जितेपछि अभिनेत्री जसिता गुरुङले खुशी व्यक्त गर्दै उक्त सम्मान सम्पूर्ण दर्शकलाई समर्पण गरिन्। अभिनेता पल शाहले यो अवार्डले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
उत्कृष्ट निर्देशक घोषित नवीन चौहानले पहिलो चलचित्रबाटै यस्तो सम्मान पाउनु आफ्नो लागि विशेष क्षण भएको प्रतिक्रिया दिए।
महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको मुख्य आकर्षण “इतिहासलाई फर्केर हेर्दा – पहिलो चलचित्र अवार्ड संवाद” रहेको थियो।

वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमी लाई नेपाल बोलाएर पहिलो ‘नेपाल चलचित्र अवार्ड’ आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा उक्त विशेष संवाद सम्पन्न भएको थियो।
वरिष्ठ निर्देशक तथा चलचित्र इतिहासकार प्रकाश सायमी ले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्ल ले आफ्नो अनुभव साझा गरेका थिए।
महोत्सव निर्देशक चक्र बहादुर चन्द ले कर्णालीको कला, संस्कृति र पर्यटनलाई चलचित्रमार्फत विश्वसामु चिनाउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा रेखा थापा, सुरक्षा पन्त, हिमेश पन्त लगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यो पनि पढ्नुहोस्: चलचित्र पत्रकार संघ नेपालको २७औं स्थापना दिवसमा पत्रकारहरू सम्मानित
