
मुकुन भुसाल अभिनीत आगामी नेपाली चलचित्र ‘लज्जावती’को छायांकन सम्पन्न भएको छ। निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माणाधीन यस चलचित्रले इन्डक्ल्यापसँगै आगामी साउन २९ गतेलाई प्रदर्शन मिति तय गरेको छ।
छायांकन सेटबाट प्राप्त तस्बिरमा अभिनेता मुकुन भुसाल फरक अवतारमा देखिएका छन्। काखमा शिशु बोकेको अवस्थामा देखिएका उनी परम्परागत ग्रामीण भेषभूषामा प्रस्तुत भएका छन्। उनको यो लुक्सले चलचित्रमा भावनात्मक, जिम्मेवार र पारिवारिक सम्बन्धसँग जोडिएको पात्र निर्वाह गरेको संकेत गर्छ।
पछिल्ला वर्षहरूमा अभिनयका कारण दर्शक तथा समीक्षकको प्रशंसा बटुल्दै आएका मुकुनको यो नयाँ अवतारले चलचित्रप्रति थप चासो बढाएको छ। सार्वजनिक तस्बिरले ‘लज्जावती’ ग्रामीण परिवेश र पारिवारिक कथावस्तुमा आधारित हुन सक्ने अनुमान गर्न सकिन्छ।
निर्माण पक्षका अनुसार काठमाडौंको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य खिच्दै ४५ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो। अब चलचित्र पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गर्नेछ।
‘लज्जावती’ले साउन २९ गते देशभर प्रदर्शनमा आउने तयारी गरिरहेको छ। चलचित्रको कथा, कलाकारको प्रस्तुति र विशेषगरी मुकुन भुसालको फरक लुक्सले दर्शकमाझ अहिले नै उत्सुकता सिर्जना गर्न थालेको छ।
