निशान्त विक र संगीना थापा मगरले जिते राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा

नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा उनीहरूले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार जिते।


‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगरले जितेका छन्। प्रतिष्ठान उपत्यका समन्वय समिति (ख) बाट प्रतिस्पर्धामा उत्रिएका उनीहरू आइतबार अबेर राति सम्पन्न फाइनलमा १७ टिमलाई पछि पार्दै शीर्ष विजेता बनेका हुन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चलेको प्रतियोगितामा विजेता विक र थापा मगरले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा सरोज सिंखडा र जमुना विश्वकर्मा, प्रतिष्ठान बागमती प्रदेश (क) द्वितीय भए। मानव रावत क्षेत्री र भावना अर्याल, प्रतिष्ठान मधेश प्रदेश (क) तृतीय घोषित भए भने राजमान खत्री र शान्ता वली, प्रतिष्ठान लुम्बिनी प्रदेश (ख) ले सान्त्वना पुरस्कार प्राप्त गरे। द्वितीय हुने टिमले २ लाख, तृतीयले १ लाख र सान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाए।

जेठ २९ गते सुरु भई ३१ गतेसम्म चलेको प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट कलाकारहरू पनि सम्मानित भए। उत्कृष्ट गायकको उपाधि राजु लामिछाने, प्रतिष्ठान बागमती प्रदेश (ख) ले पाए भने उत्कृष्ट गायिका जमुना सुनार, प्रतिष्ठान उपत्यका समन्वय समिति (क) बनिन्।

त्यस्तै, उत्कृष्ट नवगायकमा बिक्रम गहतराज, प्रतिष्ठान सुदूरपश्चिम प्रदेश (ख) र उत्कृष्ट नवगायिकामा शितल कल्पना विक, प्रतिष्ठान कर्णाली प्रदेश (ख) छनोट भए। अनुशासित गायक बेल बहादुर परियार, प्रतिष्ठान मधेश प्रदेश (ख) र अनुशासित गायिका शान्ति कार्की, प्रतिष्ठान चण्डीगढ घोषित भए।

भेषभूषातर्फ उत्कृष्ट पुरुषमा प्रितम पोखरेल, प्रतिष्ठान युके र उत्कृष्ट महिलामा सीता माझी, प्रतिष्ठान कोशी प्रदेश (क) सम्मानित भए।

नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता अपेक्षाभन्दा भव्य भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्।

प्रतियोगिताका लागि प्रतिष्ठानको आन्तरिक छनोट समितिले सहभागी टिमलाई समावेशी र प्रतिस्पर्धी बनाउन फाइनल चरणका लागि १८ टिम छनोट गरेको थियो।

भव्य उद्घाटनसहित सुरु भएको कार्यक्रममा चर्चित लोकगायक गायिका, राजनीतिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता थियो।

प्रतियोगिताको मूल समारोह संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर आफैँ थिइन्। सह–संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उप–संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी रहेका थिए।

सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका थिए भने कार्यक्रम निर्देशकका रूपमा उज्वल जंग ठकुरी रहेका थिए। मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकारहरू विभिन्न उपसमितिमा सक्रिय थिए।

करिब २० हजार दर्शकले अवलोकन गरेको प्रतियोगिताको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको थियो। विदुर नगरपालिका र टोखा नगरपालिका संरक्षकका रूपमा रहेका थिए। नुवाकोट उद्योग वाणिज्य संघ प्रवर्द्धक रहेको प्रतियोगितामा नुवाकोट निर्माण व्यवसायी संघ मुख्य सहयोगी संस्थाका रूपमा थियो।

SUBSCRIBE 👉