कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको फिल्म स्टोरी बैंक आवेदन समयसीमा थप, उत्कृष्ट कथालाई नगद पुरस्कार

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन समयसीमा थप गरिएको छ। उत्कृष्ट कथालाई नगद पुरस्कार, पटकथा तालिम र चलचित्र निर्माणको अवसर दिइनेछ।


‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारासहित अघि बढिरहेको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणअन्तर्गत विशेष आकर्षणका रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन समयसीमा थप गरिएको छ। कर्णालीका मौलिक कथा, संस्कृति, इतिहास र सामाजिक यथार्थलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रमले स्थानीय लेखक, युवा सर्जक र कथाकारलाई नयाँ अवसर दिने अपेक्षा गरिएको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा परिमार्जित समय तालिका र विस्तृत नियमहरू सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य साबित्री मल्ल र पूर्व मन्त्री कुन्ती शाही विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य शाहीले कर्णाली प्रदेश सरकारले नेपाली चलचित्र छायांकनका लागि १ करोड रुपैयाँ बजेट छुट्याउने सहमति भएको जानकारी दिए।

“हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ, यो वर्ष चलचित्रकै लागि भनेर १ करोड बजेट छुट्टाउने सहमति छ,” उनले भने, “म सरकारलाई पुनः त्यो वाचा सम्झाउन चाहन्छु।”

प्रतियोगिता सार्वजनिक भएलगत्तै विशेषगरी कर्णाली क्षेत्रका स्थानीय सर्जक, लेखक तथा दूरदराजमा रहेका प्रतिभाहरूबाट थप समयको माग आएको आयोजकले जनाएको छ। भौगोलिक विकटता, कार्यव्यस्तता र सिर्जनात्मक तयारीका कारण आवेदन अवधि थप गर्नुपर्ने अनुरोध आएपछि महोत्सव सचिवालयले समयसीमा विस्तार गरेको हो।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार कुनै पनि योग्य र प्रतिभावान सर्जक यो अवसरबाट नछुटून् भन्ने उद्देश्यले आवेदन अवधि थप गरिएको हो। उनले कथाहरू थप परिपक्व र प्रभावकारी बनून् भन्ने चाहनाले पनि यो निर्णय गरिएको बताए।

प्रतियोगिताका लागि देश तथा विदेशमा रहेका सिर्जनशील नेपाली लेखकहरूबाट कथा आह्वान गरिएको छ। प्राप्त कथाहरूमध्ये विशेषज्ञ निर्णायक मण्डलले पारदर्शी ढंगले उत्कृष्ट १५ कथा छनोट गर्नेछ। छनोट भएका कथाहरूलाई महोत्सवको ‘फिल्म स्टोरी बैंक’ मा सुरक्षित राखिनेछ।

आयोजकका अनुसार छनोट भएका लेखकहरूलाई पटकथा लेखनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिनेछ। उत्कृष्ट १५ मध्येबाट सर्वोत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिनेछ।

महोत्सवले स्वदेश तथा विदेशका चलचित्र निर्माता र निर्देशकहरूलाई आमन्त्रण गरी छनोट भएका कथाहरूमा व्यावसायिक चलचित्र निर्माणको सम्भावना खोज्नेछ। कुनै कथा चलचित्रका रूपमा निर्माण हुने अवस्थामा कथाकारलाई नामसहित उचित व्यावसायिक पारिश्रमिक र आवश्यक परामर्श उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रतियोगितामा स्वदेश तथा विदेशमा बसोबास गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले भाग लिन सक्नेछन्। सहभागीले नेपाली नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

कथा पूर्ण रूपमा मौलिक, अप्रकाशित र कर्णाली क्षेत्रको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित हुनुपर्नेछ। कथा नेपाली भाषामा लेखिएको हुनुपर्ने नियम तय गरिएको छ।

सहभागीले कथाको शीर्षकसहित ३ देखि ५ हरफको मर्म अर्थात् लगलाइन शीर्ष भागमा राख्नुपर्नेछ। कथा एमएस वर्डमा टाइप गरिएको हुनुपर्नेछ। कम्तीमा ३ पेजको सारांश वा बढीमा ७ पेजको विस्तृतीकरण पेस गर्नुपर्नेछ।

सहभागीहरूले आफ्नो परिचयपत्र र कथा सुरक्षित गर्न दिएको अनुमतिपत्रसहित महोत्सवको आधिकारिक इमेलमार्फत आगामी २०८३ मंसिर १४ गते अर्थात् ३० नोभेम्बर २०२६ भित्र आफ्नो सिर्जना पठाइसक्नुपर्नेछ।

प्राप्त कथाहरूको नतिजा आगामी २०८३ पुष १६ गते अर्थात् ३१ डिसेम्बर २०२६ प्रकाशन गरिनेछ। छनोटमा परेकाहरूलाई सन् २०२६ मा हुने चौथो महोत्सवको आयोजना समयमा चलचित्र स्क्रिप्ट लेखन तालिम प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सव सचिवालयले कर्णालीको माटो, संस्कृति र समाजको जीवन्त कथा विश्वमाझ पुर्‍याउने अभियानमा सहभागी हुन सबै कथाकारलाई आह्वान गरेको छ। विस्तृत जानकारी तथा कथा पठाउनका लागि आधिकारिक वेबसाइट र इमेल ठेगाना प्रयोग गर्न आग्रह गरिएको छ।

सोही कार्यक्रममा कर्णाली क्षेत्रको कथामा आधारित सिर्जु शाहद्वारा लिखित पुस्तक ‘बैकिनी’ पनि सार्वजनिक गरिएको थियो।

SUBSCRIBE 👉