
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘क्याप्टेन साब’को छायांकन पूरा भएको छ। दुई चरणमा छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो।
चलचित्रको पहिलो चरणको छायांकन गत वर्ष साउन १० गतेबाट सुरु भएको थियो। दोस्रो चरणको छायांकन भने दुई साताअघि सुरु गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रका दृश्य काभ्रे, काठमाडौं र वीरगञ्जका विभिन्न स्थानमा खिचिएका छन्।
‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक चलचित्र हो। पाइलटसमेत रहेका थापा व्यवसायी तथा सञ्चार उद्यमीका रूपमा परिचित छन्। उनको जीवन यात्रालाई पर्दामा उतार्ने प्रयास चलचित्रले गर्नेछ।
चलचित्रलाई कृष्णबहादुर थापाले खिचेका हुन्। पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन्।
निर्देशक दीपेन्द्र के खनालले यसअघि चलचित्र ‘धनपति’मा खगेन्द्र लामिछाने र सुरक्षा पन्तलाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए। त्यसपछि एउटै चलचित्रमा दीपेन्द्र, खगेन्द्र र सुरक्षाको यो दोस्रो सहकार्य हो। दीपेन्द्र र खगेन्द्र भने नेपाली फिल्म क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएका सर्जक अभिनेता जोडीका रूपमा चिनिन्छन्।
चलचित्रका निर्माता निर्देशक दीपेन्द्र के खनाल स्वयंसँगै करण श्रेष्ठ हुन्। कार्यकारी निर्मातामा सिर्जना नापित रहेकी छन्। चलचित्रको लेखन पनि निर्देशक खनालकै हो।
प्राविधिक टिममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइनर, रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। छायांकन सकिएसँगै अब चलचित्र पोस्ट–प्रोडक्सनको चरणमा प्रवेश गर्दैछ।
यो पनि पढ्नुहोस्: विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सकियो, भदौ २६ मा प्रदर्शन तयारी
