जितु र प्रियना प्रेमिल जोडीको ‘कार्की साइँला’ प्रेमकथा कि संघर्षको कथा?

फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म असोज २ गते रिलिज हुने जनाएको हो। राजेन्द्र बस्नेत निर्देशित फिल्ममा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन्।


Nepali Movie Karki Saila starring Jitu Nepal and Priyanka Acharya

अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको प्रतीक्षित चलचित्र ‘कार्की साइँला’ अब आगामी असोज २ गते प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले बुधबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेको हो।

यसअघि फिल्मलाई साउन १ गते बाट प्रदर्शन गर्ने तयारी गरिएको थियो। तर, वितरकसँगको आपसी छलफलपछि प्रदर्शन मिति सारिएको निर्माण टिमले जनाएको छ। नयाँ मितिसँगै सार्वजनिक गरिएको पोस्टरले फिल्मप्रति दर्शकको चासो थप बढाउने देखिएको छ।

नयाँ पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य ‘मुन्नी’लाई भावनात्मक रुपमा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएको उनीहरूको भावले चलचित्रमा सम्बन्ध, भावना र जीवन संघर्षको मिश्रण हुन सक्ने संकेत गर्छ। यद्यपि, फिल्मको मूल कथावस्तु, पात्रहरूको सम्बन्ध र कथा कहाँसम्म जान्छ भन्नेबारे निर्माण पक्षले विस्तृत रूपमा खुलाइसकेको छैन।

‘कार्की साइँला’ नामबाटै फिल्म एउटा साधारण मान्छेको जीवन, संघर्ष र यात्रासँग जोडिएको हुन सक्ने अनुमान गर्न सकिन्छ। यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरमा जितु नेपाललाई भरियाको रूपमा देखाइएको थियो, जसले फिल्मको कथा श्रम, पहिचान र संघर्ष वरिपरि घुम्ने संकेत गरेको थियो।

चलचित्रको छायांकन पूर्वी नेपालका सुन्दर स्थानहरू धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरा लगायतका क्षेत्रमा गरिएको बताइएको छ। पूर्वी नेपालको प्राकृतिक परिवेश, स्थानीय जीवनशैली र सामाजिक पृष्ठभूमिले फिल्मलाई दृश्यात्मक रूपमा पनि आकर्षक बनाउने अपेक्षा गरिएको छ।

राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय रहनेछ।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन्। फिल्मको कार्यकारी निर्माता अनन्त राई हुन्।

फिल्मको कथा सबिन अधिकारी र शंकर धितालले लेखेका हुन्। मुख्य सहायक निर्देशकको जिम्मेवारी रोजल थापाले सम्हालेका छन्। डम्बर राईको छायांकन रहेको फिल्ममा किरण दाहालको द्वन्द्व, दिप्सन लिम्बुको संगीत र सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको छ।

व्यावसायिक वितरणतर्फ, काठमाडौं उपत्यकाभित्र फिल्मलाई काफिया फिल्मस्का तर्फबाट गोविन्द शाहीले वितरण गर्नेछन् भने उपत्यकाबाहिर कुबेर फिल्मस्ले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको छ।

जितु नेपाललाई लामो समयदेखि दर्शकले हास्य तथा चरित्रप्रधान भूमिकामा रुचाउँदै आएका छन्। ‘कार्की साइँला’मा उनी फरक भावभूमि र संघर्षशील पात्रमा देखिने सम्भावनाले फिल्मप्रति जिज्ञासा बढाएको छ।


यो पनि पढ्नुहोस्: मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा, मिलन चाम्सले निर्देशन गर्ने


SUBSCRIBE 👉