
निर्देशक राजु श्रेष्ठले ‘कंगाल करोडपति’को छायांकन अन्तिम चरणमा पुगेकै बेला नयाँ फिल्म ‘नौ डाँडा काटेर’ घोषणा गरेका छन्। कोजाग्रत पूर्णिमाको अवसर पारेर उनले फेसबुकमार्फत आफ्नो आगामी फिल्मको नाम सार्वजनिक गरेका हुन्।
सिनेमा पाठशालाको ब्यानरमा बन्ने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी सुरज कुमारले सम्हाल्नेछन्।
फिल्मको कथा तथा पटकथा रंग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पार्नेछन्। निर्माणसँग जोडिएका केही नाम सार्वजनिक भए पनि पर्दामा देखिने कलाकारबारे भने खुलाइएको छैन।
श्रेष्ठका अनुसार ‘कंगाल करोडपति’को छायांकन सकिएपछि ‘नौ डाँडा काटेर’का कलाकार तथा अन्य प्राविधिक टोलीबारे जानकारी दिइनेछ। अहिले उनको ध्यान निर्माणाधीन फिल्मको बाँकी छायांकन पूरा गर्नमा छ।
‘नौ डाँडा काटेर’को कथावस्तु, छायांकन तालिका र प्रदर्शन मिति पनि सार्वजनिक हुन बाँकी छन्।







