
अनमोल केसी र प्रिन्सी खतिवडाको प्रेमिल नोकझोक समेट्दै चलचित्र ‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। पुरानो नेपाली समाजको परिवेशमा खिचिएको यो नृत्यप्रधान गीत निर्माण टोलीले तिहार र देउसीभैलोलाई लक्षित गर्दै ल्याएको हो।
आइतबार युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा अनमोल र प्रिन्सीको नृत्यसँगै दोहोरी शैलीको हाँसोठट्टा र प्रेमभाव देखाइएको छ। यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेकी प्रिन्सी र अनमोलको जोडीलाई गीतले रमाइलो माहोलमा प्रस्तुत गरेको छ।
गीतमा रुबै र प्रविण बेडुवालको स्वर छ। संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका हुन्। पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको धुन समेटिएको गीतमा नेपाली लोकबाजाको स्वादलाई ठाउँ दिइएको छ।
निर्माण टोलीका अनुसार, नजिकिँदो तिहारको उत्सवी वातावरण र देउसीभैलोलाई ध्यानमा राखेर गीत सार्वजनिक गरिएको हो। कार्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारमा यो गीत थपिएको छ।
भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ले ३० देखि ४० को दशकको नेपाली परिवेशमा प्रेमकथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक वातावरण, जीवनशैली र प्रेम गर्ने तौरतरिका पर्दामा उतार्ने प्रयास गरिएको छ।
भुवनका लागि यो चलचित्र पुरानो समयको कथा मात्र होइन, आफ्नै सिनेमायी यात्रासँग जोडिएको काम पनि हो। रोमान्टिक अभिनेताका रूपमा लोकप्रिय रहेका उनले चलचित्रको कथावस्तु र परिवेशसँग आफ्नो अभिनय यात्राको सम्बन्ध रहेको बताउँदै आएका छन्। निर्देशनसँगै उनी स्वयं पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्।
अनमोल र प्रिन्सीको जोडीसँगै अभिनेत्री गरिमा पन्तको पुनरागमन पनि चलचित्रको अर्को उल्लेखनीय पक्ष हो। लामो समयपछि गरिमा यसै चलचित्रमार्फत अभिनयमा फर्किएकी छन्।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन्। राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन्।
जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा विवेक थापा सहनिर्माता छन्।







