
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको पूर्ण हास्यव्यङ्ग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’ को शुभ मुहूर्त गरिएको छ। वैदिक विधिअनुसार पूजाआजा गर्दै निर्माण टिम, कलाकार र सञ्चारकर्मीहरूको उपस्थितिमा चलचित्रको औपचारिक सुरुवात गरिएको हो।
मुहूर्त शटसँगै चलचित्रको निर्माण यात्रा विधिवत् रूपमा अघि बढेको छ। निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन यही असार २९ गते बाट सुरु हुनेछ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा तयार हुन लागेको चलचित्रलाई समीरले निर्देशन गर्दैछन्। मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने विश्वास व्यक्त गरे। उनले चलचित्र विशुद्ध हास्यव्यङ्ग्य शैलीमा बनेर दर्शकलाई भरपुर मनोरञ्जन दिने बताए।
चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रबिन) ले उत्कृष्ट पारिवारिक कमेडी फिल्म बनाउने लक्ष्यसहित टिम अगाडि बढेको बताए। सम्पूर्ण टिमको मेहनतले दर्शकको मन जित्नेमा उनी विश्वस्त देखिए।
त्यस्तै, कथाकारसमेत रहेका कार्यकारी निर्माता आभास अधिकारीले आफ्नै समाजका रमाइला, ठट्यौली र व्यङ्ग्यात्मक घटनाक्रमलाई पर्दामा उतार्ने प्रयास गरिएको बताए। उनका अनुसार चलचित्रले मनोरञ्जनसँगै दर्शकलाई आफ्नै वरपरका पात्र र परिस्थितिसँग जोड्नेछ।
यस चलचित्रबाट ‘दले दाइ’ नामले चर्चित कमेडियन सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्। उनको प्रवेशले चलचित्रप्रति कमेडीप्रेमी दर्शकको चासो थप बढ्ने देखिएको छ।
चलचित्रमा दिग्गज अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।
यसैगरी, सह-निर्माताका रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा जोडिएका छन्।
चलचित्रको छायाङ्कन विशाल कक्षपतिले गर्नेछन् भने संगीत अभिषेक कार्कीको रहनेछ। पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार पारेका हुन्।
प्राविधिक टिमतर्फ करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्।
त्यस्तै, चलचित्रमा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टायल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ।
सञ्चारकर्मीहरूसँगको अन्तरक्रियासहित सम्पन्न मुहूर्त कार्यक्रममा निर्माण पक्ष र कलाकारहरूले चलचित्रलाई सफल पार्ने उच्च उत्साह र आत्मविश्वास व्यक्त गरे। पारिवारिक कमेडी र हास्यव्यङ्ग्यलाई केन्द्रमा राखेको ‘तिरिमिरी झ्याइँ’ले नेपाली दर्शकलाई हाँसो र मनोरञ्जनको नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।
