दीपाश्री निरौलाको अनुपस्थितिमा Comedy Club with Champions को अध्यक्ष कुर्सीमा जितु नेपाल

दीपाश्री निरौलाको अनुपस्थितिमा जितु नेपाल ‘Comedy Club with Champions’को कार्यवाहक अध्यक्ष बनेका छन्। भावुक पोस्ट सहित अस्पतालमा दीपाश्रीलाई भेटेको तस्बिर साझा गर्दै उनले दुई भागको छायांकन पूरा गरेको जानकारी दिएका छन्।


अभिनेता तथा निर्माता जितु नेपाल हास्य टेलिभिजन कार्यक्रम ‘Comedy Club with Champions’ मा कार्यवाहक अध्यक्षको भूमिकामा देखिने भएका छन्।

सफल उपचारपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अनुपस्थितिमा जितुले उक्त जिम्मेवारी सम्हाल्ने भएका हुन्। उनले अस्पतालमा दीपाश्रीलाई भेटेको तस्बिरसहित सामाजिक सञ्जालमार्फत नयाँ जिम्मेवारीबारे जानकारी दिएका छन्।

जितुले आफूलाई योग्य ठानेर जिम्मेवारी सुम्पिएकोमा दीपाश्रीप्रति आभार व्यक्त गरेका छन्। साथै दीपाश्रीको निर्णय कार्यान्वयन गर्ने कार्यक्रमका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीसहित सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, “सफल उपचारपछि स्वास्थ्यलाभ गरिरहनुभएकी आदरणीय दिपा दीदीको अनुपस्थितिमा Comedy Club with Champions को कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्ने अवसर पाएको छु।”

हरेक नयाँ अनुभवलाई सिकाइको अवसरका रूपमा लिने गरेको उल्लेख गर्दै जितुले यो जिम्मेवारी आफ्नो लागि ठूलो अनुभव र गर्वको विषय बनेको बताएका छन्।

जितुका अनुसार उनी बिहान अन्नपूर्ण अस्पताल पुगेर दीपाश्रीलाई भेटेपछि कार्यक्रमको छायांकनमा सहभागी भएका थिए। उनले सोही दिन कार्यक्रमका दुई भागको छायांकन सम्पन्न गरेको र अनुभव अत्यन्त रमाइलो रहेको बताएका छन्।

जितुले दीपाश्रीसँग जोडिएको पुरानो टेलिभिजन यात्रालाई पनि स्मरण गरेका छन्। २०७५ साल कात्तिक १९ गते सोमबार नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा दीपाश्री अध्यक्षको भूमिकामा देखिएकी थिइन्।

अहिले दीपाश्रीकै स्थानमा बसेर केही समय जिम्मेवारी सम्हाल्न पाउनुलाई जितुले आफ्नो लागि ठूलो सौभाग्यका रूपमा लिएका छन्।

दीपाश्री बिरामी भएको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै उनले सफल उपचारपछि स्वास्थ्यलाभ गरिरहेकामा खुसी व्यक्त गरेका छन्। दीपाश्री चाँडै पूर्ण रूपमा निको भएर थप जोश, जाँगर र ऊर्जा साथ नियमित जिम्मेवारीमा फर्किने विश्वास पनि उनले व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “बीचको यो विश्राम अवधिमा मैले कार्यवाहकको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रयास गर्नेछु। तर मनको एउटै चाहना छ: जति सक्दो चाँडो हजुरलाई आफ्नै सिटमा फर्किएको देख्न पाइयोस्।”

जितुले दीपाश्रीलाई पहिलेभन्दा थप सशक्त, ऊर्जावान र मुस्कानसहित फर्किन शुभकामना दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।