‘निशानी’लाई मौका दिँदै असोज ३ मा पुग्यो ‘पुन्टे परेड’


Punte-Pared
ग्ल्यामर नेपाल, काठमाडौं । साउनमा रिलिजको तयारी भइरहेका बेला भदौ २७ मा सरेको फिल्म ‘पुन्टे परेड’ले पुनः फिल्म प्रदर्शन मितिलाई सार्दै असोज ३ मा पुर्याएको छ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म ‘कोहिनूर’ले व्यापारिक रेकर्ड कायम राख्दै हलमा होल्ड ओभर कायम गरिरहेपछि भदौ महिनाको फिल्मको सेड्युल बिग्रिएको थियो ।

फिल्मले हल नपाइरहेको अवस्थामा भदौमा रिलिजको तयारीमा रहेका अन्य फिल्मले पनि आफ्नो प्रदर्शनको मितिलाई पछाडि धकेल्दै जाँदा ‘पुन्टे परेड’ले पनि फिल्मलाई असोजमा पुर्याएको हो । तर फिल्मका निर्देशक सुवास कोइराला भने भदौ २७ मा अर्को फिल्म ‘निशानी’सँग जुध्ने भएपछि फिल्म क्षेत्र निकै सानो भएकोले गर्दा आपसी सहमतिमा असोज ३ का लागि फिल्म सारिएको दाबी गर्छन् । ‘निशानी फिल्मको निर्माता पनि नयाँ हुनुहुन्थ्यो, हामी पनि नयाँ छौ, त्यसैले सहमतिमै असोज ३ मा हामी गएका हौ ।’ निर्देशक कोइरालाले भने,‘हामीले गरेको च्यारेटीबाट आएको प्रतिक्रियाको आधारमा केहि परिवर्तन गरेका छौ, त्यसले गर्दा पनि ढिला भएको हो ।’ आइडियाज एण्ड इमेजेज प्रा लि को व्यानरमा हरि महत, सुरज कोइराला र अनिल अधिकारीले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा, सरोज श्रेष्ठ, नाजिर हुसेन, रविन्द्र खड्का र गीता अधिकारीलगायतको अभिनय रहेको छ ।

निलु डोमा शेर्पाको कन्सेप्ट रहेको फिल्मको पटकथा तथा संवाद शान बस्न्यातले तयार पारेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बु र टेकनन्द लामाको संगीत तथा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉