‘बाः एक योद्धा’को भावुक बनाउने पारिवारिक शीर्ष गीत रिलिज

‘बाः एक योद्धा’को शीर्ष गीतले सफलता र उचाइमा पुगे पनि जन्म दिने बुवाआमा, परिवार र जन्मभूमि कहिल्यै नबिर्सन भावुक सन्देश दिएको छ।


चलचित्र ‘बाः एक योद्धा’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले सफलता र उचाइमा पुगे पनि आफ्ना बुवाआमा, परिवार र जन्मभूमि कहिल्यै नबिर्सन आग्रह गर्छ।

गीतमा सञ्जीव थापाको शब्द तथा हरि लम्सालको संगीत र स्वर रहेको छ। रुख र जराको सम्बन्धसँग मानिसको पहिचानलाई जोडिएको गीतले माटो र पानीबाट अलग भएपछि अस्तित्व नै संकटमा पर्ने भाव प्रस्तुत गरेको छ।

जीवनमा जति ठूलो सफलता हासिल गरे पनि विगत, परिवार र आफ्नो धरातल बिर्सिए पहिचान अधुरो रहने सन्देश गीतमा समेटिएको छ। आफ्ना मानिस, आफन्त र जन्मभूमिभन्दा ठूलो उपलब्धि अरू नहुने भावलाई गीतका शब्दले प्रभावशाली रूपमा व्यक्त गरेका छन्।

गीतको मर्मस्पर्शी भाव र ओजपूर्ण शब्दले चलचित्रले उठान गरेको कथा तथा सन्देशको झलक दिन्छ। जन्म दिने बुवाआमा र आफू हुर्किएको घरप्रतिको माया कहिल्यै नमरोस् भन्ने भाव चलचित्रको केन्द्रमा रहेको गीतबाट अनुमान गर्न सकिन्छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दिव्यदेव, सुहाना थापा र झरना थापासहित अन्य कलाकारलाई देखाइएको छ। सन्तानलाई हुर्काउँदाको समयदेखि उनीहरू पराई घर र पराई भूमिमा पुगेपछिको अवस्थासम्म भिडियोले चित्रण गरेको छ।

सन्तान टाढिएपछि एक्लिएको बुवाले भोग्ने पीडा पनि भिडियोको प्रमुख भाव हो। चलचित्रका विभिन्न दृश्य समेटिएको भिडियोले पारिवारिक सम्बन्ध, त्याग र विछोडलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। नेपाली परिवारमा सन्तानको भविष्य निर्माण गर्न बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौती चलचित्रको मुख्य कथावस्तु रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नेपाली संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय गीत दिएका लम्साल संगीतकारसँगै गीतकार र गायकसमेत हुन्।

‘बाः एक योद्धा’मार्फत उनले फिचर चलचित्र निर्देशनमा डेब्यु गर्दै छन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि लम्सालले नै लेखेका हुन्।

चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सहनिर्माता रहेका छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।