
बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न अभिनेत्री प्रियंका कार्की आफैं नुवाकोट पुगेकी छन्। उनले प्रभावित क्षेत्रमा पुगेर आफ्नै हातले राहत सामग्री वितरण गर्दै ७१ परिवारसम्म सहयोग पुर्याएकी हुन्।
सहयोग प्रत्यक्ष रूपमा प्रभावित परिवारका हातसम्म पुगेको देख्दा आफूले छुट्टै खुसी र सन्तोष महसुस गरेको प्रियंकाले बताएकी छन्।
उनले लेखेकी छन्, “तपाईंहरूले दिनुभएको सहयोग, माया, साथ र विश्वास प्रत्यक्ष रूपमा प्रभावित परिवारका हातसम्म पुगेको देख्दा मनले थोरै भए पनि राहत महसुस गरेको छ।”
राहत अभियानमा साथ दिने हरेक व्यक्ति तथा सहयोगीप्रति प्रियंकाले हृदयदेखि आभारसमेत व्यक्त गरेकी छन्।
विपत्तिको समयमा सहयोग रकम वा राहत सामग्रीमा मात्र सीमित हुँदैन। प्रभावित समुदायसम्म पुगेर उनीहरूको अवस्था बुझ्नु र प्रत्यक्ष साथ दिनु पनि उत्तिकै अर्थपूर्ण हुन्छ।
७१ परिवारसम्म राहत पुर्याएको यस अभियानमा प्रियंकाको व्यक्तिगत उपस्थितिले पनि विशेष सन्देश दिएको छ। राहत सामग्री लिएर आफैं प्रभावित परिवारमाझ पुगेकी उनले संकटका बेला प्रत्यक्ष साथ र सहानुभूतिको महत्त्व देखाएकी छन्।

