
चलचित्र ‘अन्तिम दाउ’ निर्माणको औपचारिक घोषणा गरिएको छ। निर्माण पक्षले चलचित्रको थिमसँगै मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुई फरक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणमा अघि बढेको जानकारी दिएको हो।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने ‘अन्तिम दाउ’लाई बिजु पार्कीले निर्देशन गर्दैछन्। यसै चलचित्रमार्फत उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन्।
सार्वजनिक दुवै पोस्टरले चलचित्र एक्सन र थ्रिलर जनरमा केन्द्रित रहने संकेत गर्छन्। पहिलो पोस्टरमा ६ जना मुख्य कलाकारलाई एउटै लाइनमा प्रस्तुत गरिएको छ। पृष्ठभूमिमा देखिएको घना जंगल र पहाडी दृश्यले कथाको परिवेश दुर्गम वा जंगल क्षेत्रसँग जोडिएको हुनसक्ने संकेत दिन्छ।
पोस्टरमा कलाकारहरूको अनुहार चोटग्रस्त र रगतले लतपतिएको देखिन्छ। उनीहरूको गम्भीर तथा आक्रामक भावले कथामा तीव्र द्वन्द्व र टकराव रहने आभास दिन्छ। पोस्टरका दुई किनारामा कविता नेपाली र निश्चल प्रधानलाई भने रहस्यमयी मुस्कानसहित प्रस्तुत गरिएको छ, जसले उनीहरूको भूमिकाप्रति थप जिज्ञासा पैदा गरेको छ।

दोस्रो पोस्टर अझ रहस्यमयी शैलीमा तयार गरिएको छ। रातो रङको ठाडो पट्टीमा ‘२०२७’ लेखिएको छ। यो अंक कथाको समयरेखा वा चलचित्रको प्रदर्शनसँग सम्बन्धित संकेत हुनसक्ने देखिए पनि निर्माण पक्षले यसको अर्थबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
यस पोस्टरमा कविता नेपाली र निश्चल प्रधानलाई केन्द्रमा राखिएको छ भने विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामालाई तल्लो भागमा प्रस्तुत गरिएको छ। कविता र निश्चलको हाफ-बडी लुक्समा उनीहरू मुस्कुराइरहेका देखिन्छन्। बाँकी चार कलाकार भने चोटग्रस्त र अनुहारमा रगत बगिरहेको अवस्थामा देखिएका छन्।
चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ।
चलचित्रका सह–निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा हुन्। कार्यकारी निर्मातामा रमेश शाही ठकुरी र शिशिर पार्की रहेका छन् भने प्रोजेक्ट एडभाइजरको जिम्मेवारी गजित विष्ट र सरिता गिरीले सम्हालेका छन्। प्रोडक्सन म्यानेजरमा सरोज श्रेष्ठ छन्।
चिफ असिस्टेन्ट डिरेक्टर अनिश बुढाथोकी हुन् भने असिस्टेन्ट डिरेक्टरमा मार्लोभ ढुंगाना, अनिता स्याङ्बो र विशाल बुढा रहेका छन्। चलचित्रको कलरिस्ट कुणाल कुँवर, एक्सन निर्देशक राजु डोङ, भीएफएक्समा सज्जल लोप्चन तथा मेकअप र कस्ट्युम डिजाइनमा ज्योति केसी रहनेछन्।
रामप्रसाद चौधरीले सम्पादन गर्ने चलचित्रको डीओपी संगम राई हुन्। श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने ‘अन्तिम दाउ’को पब्लिसिटी पार्टनर टौवा स्टुडियो रहेको छ।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन छिट्टै सुरु हुनेछ।

