
Dayahang Rai with debut actress Sanskriti Gurung in Nepali Movie ‘Buki Phool’
गुरुङ समुदायको इतिहास, संस्कृति र सामाजिक जीवनलाई पर्दामा उतार्ने लक्ष्यसहित फिल्म ‘बुकी फूल’को छायांकन कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट सुरु भएको छ। अभिनेता दयाहाङ राई र डेब्यु कलाकार संस्कृति गुरुङ मुख्य जोडीमा देखिने फिल्मको बिहीबार शुभमुहूर्त गरिएको हो।
गण्डकी प्रदेशका सांसदसमेत रहेका निर्माता बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पनामा बन्न लागेको फिल्मलाई ओमप्रकाश गुरुङले निर्देशन गर्दैछन्। निर्माता गुरुङको अभियान फिल्म्सले करिब एक दशकपछि पुनः ठूलो पर्दाको नेपाली फिल्म निर्माण गर्न लागेको हो।
गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई केन्द्रमा राखिएको फिल्मको अधिकांश छायांकन सिक्लेस र आसपासका क्षेत्रमा हुनेछ। शुभमुहूर्त कार्यक्रममा फिल्मकर्मी नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार र स्थानीयवासी सहभागी थिए।
फिल्ममा दयाहाङ र संस्कृति गुरुङसँगै पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ र बेदबहादुर गुरुङ ‘श्याम’लगायत कलाकारको अभिनय रहनेछ।
‘बुकी फूल’बाट अभिनयमा डेब्यु गर्न लागेकी संस्कृतिसँग दयाहाङको जोडी बाँधिएको छ। संस्कृति गुरुङको यो अभिनय डेब्यु हो। मोडलिङमा सक्रिय संस्कृतिले र केही फिल्ममा सहनिर्देशनसमेत गरिसकेकी छिन्।
शुभमुहूर्तमा फिल्मकर्मी नवीन सुब्बाले कथावस्तु र निर्माण पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सके ‘बुकी फूल’ गुरुङ समुदायको ऐतिहासिक दस्तावेजका रूपमा स्थापित हुन सक्ने बताए। मेकिङमा पर्याप्त ध्यान दिन सके फिल्मले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने सम्भावना उनले औँल्याए।
नेपाली फिल्म क्षेत्रमा क्रमिक सुधार देखिएको उल्लेख गर्दै सुब्बाले विषयवस्तु र त्यसको प्रस्तुतिमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
निर्माता गुरुङले ‘बुकी फूल’लाई आफ्नो ड्रिम प्रोजेक्टका रूपमा लिएका छन्। बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई फिल्ममार्फत प्रस्तुत गर्ने प्रयास गरिएको बताउँदै उनले गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई कथामा समेटिएको जानकारी दिए।
निर्देशक ओमप्रकाश गुरुङले कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राखेर फिल्म निर्माण गरिने बताएका छन्। कथाअनुसार निर्देशन र प्रस्तुतिलाई प्राथमिकता दिइने उनको भनाइ छ।
फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। निर्माण टिमले ३५ दिनभित्र छायांकन पूरा गर्ने लक्ष्य राखेको छ।
‘बुकी फूल’ लेकाली क्षेत्रमा पाइने सुगन्धित फूल भएको र फिल्मले स्थानीय भूगोल, गुरुङ संस्कृति तथा परम्परासँगै प्रेमकथा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ।

