
संगीत, म्युजिक भिडियो, फेसन र मोडलिङदेखि मेकअप, हेयर तथा कस्मेटिक क्षेत्रसम्मका प्रतिभालाई पुरस्कृत गर्दै छैटौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६’ र ‘नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६’ सम्पन्न भएको छ।
स्टार वान इन्टरटेनमेन्ट प्रा.लि. र एसबी क्रिएसन प्रा.लि.द्वारा सांस्कृतिक संस्थान (नाचघर)मा आयोजित नेपाल म्युजिक एन्ड फेसन अवार्डमा गीत–संगीत तथा म्युजिक भिडियोतर्फ १७ र फेसन तथा मोडलिङतर्फ नौ गरी २६ विधामा अवार्ड प्रदान गरिएको थियो।
समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, एसबी क्रिएसनकी अध्यक्ष सरिता भारतीलगायत अतिथिले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे।
ओएसआर डिजिटललाई चलचित्र एवं संगीत रजत सम्मान, पत्रकार कुमार आचार्यलाई चलचित्र पत्रकारिता रजत सम्मान तथा अंश वर्मालाई युवा उद्यमी तथा सामाजिक अभियन्ता सम्मान प्रदान गरियो। वीर अस्पतालका सिनियर चिकित्सक रणजीत झा गीत–संगीत तथा चिकित्सा सम्मानबाट सम्मानित भए।
चलचित्र निर्माता तथा व्यवसायी जस्मिन श्रेष्ठ र पुजा गुरुङ तथा समाजसेवी उर्मिला शेरचन (अनु)लाई नारी सम्मान प्रदान गरियो। कलाकार तथा व्यवसायी देबेन्द्र नेमवाङ, डान्स कोरियोग्राफर सरु ढुँगेल र ब्युटिसियन रेश्मा खत्री क्षेत्रीलाई पनि सम्मान गरिएको थियो।
प्रमोद खरेल र सोनी राजभण्डारी उत्कृष्ट
गीत–संगीततर्फ ‘किन रुन हुन्न’बाट प्रमोद खरेलले सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड जिते भने ‘तिम्रो आँखाको’बाट सोनी राजभण्डारी आधुनिक गीत गायिकाको अवार्ड विजेता बनिन्।
‘किन रुनु हुन्न मर्दले’बाट राम शर्माले आधुनिक गीत रचनाकारको अवार्ड प्राप्त गरे। ‘गाजलु आँखैले’बाट आशिष पौडेलले पप गीत गायन अवार्ड जित्दा चलचित्र ‘ऊनको स्वीटर’को ‘फकाउँछ काफ्ले’बाट झुमा लिम्बू चलचित्र गीत गायनतर्फ पुरस्कृत भइन्। लोकगीत गायन अवार्ड ‘बुझे मैले’बाट राधा हमाल बानियाँले हासिल गरिन्।
मोडलिङतर्फ ‘काली तरेर आउँछु’बाट राजन बुढाथोकी नवोदित मोडलको अवार्ड विजेता बने। ‘सधैँ तिमी’को भिडियोबाट प्रवण भुसालले आधुनिक गीत मोडल र ‘पालाम (पुरानो माया)’बाट बुद्धरानी लिम्बूले महिला मोडलको अवार्ड प्राप्त गरे।
पपगीत मोडलको अवार्ड उमेश भट्टले जित्दा ‘बुझे मैले’बाट ओमप्रसाद प्रसाई म्युजिक भिडियो छायाकारको अवार्ड विजेता बने।
आदिवासी गीत र नेपाल भाषाका स्रष्टा पनि पुरस्कृत
वर्षको सर्वाधिक लोकप्रिय आदिवासी गीतको अवार्ड लिम्बू भाषाको ‘माङ्गेना लाजाम’ले जित्यो। ‘पूर्वको मारुनी’बाट शम्भु फोम्बो लिम्बूले आदिवासी गीत गायक र ‘मिम्जिरे सावन’बाट सञ्जु कांलिभा लिम्बूले आदिवासी गीत गायिकाको अवार्ड प्राप्त गरे।
‘ओ.बी. मेन्वी’बाट मञ्जु कांलिभा लिम्बूले पालाम गीत गायन अवार्ड जितिन् भने आदिवासी गीत गायन जुरी अवार्ड मीरा फियाक लिम्बूले प्राप्त गरिन्।
‘मिम्फुला, भाग–२’बाट दिलु पन्धाक मादेन आदिवासी म्युजिक भिडियो मोडलको अवार्ड विजेता बनिन्। ‘यसपालिको साकेला’बाट अञ्जना राईले आदिवासी गीत रचनाकारको अवार्ड प्राप्त गरिन्।
नेपाल भाषातर्फ ‘खुसिया किनार’बाट राजु कर्माचार्यले संगीतकार र ‘चिकुलया तः खाः’बाट छत्रराज शाक्यले गीतकारको अवार्ड जिते।
फेसनतर्फ भावना कुमारी धनुकदेखि रोजी थापासम्म
फेसनतर्फ भावना कुमारी धनुकले सर्वोत्कृष्ट फेसन डिजाइनरको अवार्ड प्राप्त गरिन्। सर्वोत्कृष्ट बुटिकको अवार्ड परी बुटिक, पुरानो बानेश्वरका लागि मितु अधिकारीले हासिल गरिन्।
मिसेस युनिभर्स २०२६ रनरअप रोजी थापाले सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिता मोडलको अवार्ड जितिन् भने ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’की विजेता चाँदनी श्रेष्ठ सर्वोत्कृष्ट राष्ट्रिय सौन्दर्य प्रतियोगिता विजेताको अवार्डबाट पुरस्कृत भइन्।
ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले सर्वोत्कृष्ट फेसन एवं इभेन्ट फोटोग्राफी अवार्ड प्राप्त गरे। हिमालयन फर्निचर एन्ड सोफा फ्याक्ट्री, भक्तपुरका खड्ग थापाले सर्वोत्कृष्ट इन्टेरियर डिजाइन फर्निचरको अवार्ड हासिल गरे।
ब्युटी, मेकअप र हेयर क्षेत्रका उत्कृष्ट पुरस्कृत
एसबी क्रिएसन प्रा.लि.द्वारा आयोजित छैटौँ ‘नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६’मा मेकअप, नेल, हेयर, ब्युटी पार्लर, ट्रेनिङ सेन्टर र कस्मेटिकलगायत विभिन्न विधाका उत्कृष्टलाई अवार्ड प्रदान गरियो।
मेकअपतर्फ चलचित्र ‘मोहर’बाट अमृत मरहट्टाले सर्वोत्कृष्ट चलचित्र मेकअप आर्टिस्टको अवार्ड जिते। ब्राइडल मेकअप आर्टिस्टमा सुमीत्रा खवास, पार्टी मेकअप आर्टिस्टमा राधा चौधरी र मोडल मेकअप आर्टिस्टमा लीला राउत विजेता बने।
नेलतर्फ देउकला खेवाङले नेल टेक्निसियन र बिना राना मगरले नेल आर्टिस्टको अवार्ड प्राप्त गरे।
हेयर विधामा लक्ष्मी महर्जनले ब्राइडल हेयर डिजाइनर, मनीष नेपालले पुरुष हेयर स्टाइलिस्ट, स्मृति सुब्बाले महिला हेयर स्टाइलिस्ट र उषा गुरुङले हेयर टेक्निसियनको अवार्ड जिते।
अन्य विधामा रीता तामाङ मेहेन्दी आर्ट डिजाइनर, दुर्गा बुढाथोकी पौडेल फेसियल आर्टिस्ट, हिरा राई आइलास टेक्निसियन, निशा रजक माइक्रोब्लेडिङ आर्टिस्ट र राजेन्द्र पाख्रिन पर्मानेन्ट मेकअप (ट्याटु) आर्टिस्टको अवार्ड विजेता बने।
पार्लर, ट्रेनिङ सेन्टर र कस्मेटिक उत्पादन पनि सम्मानित
उत्कृष्ट महिला ब्युटी पार्लर (काठमाडौं)को अवार्ड आरएल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, टोखाले प्राप्त गर्यो। उत्कृष्ट ब्युटिसियन (मोफसल)को अवार्ड पुनर्वास, कञ्चनपुरकी रोशनी श्रेष्ठले जितिन्।
उत्कृष्ट ब्युटी पार्लर (मोफसल)को अवार्ड एञ्जल ब्युटी सैलुन, बरहथवा, सर्लाहीकी राजेश्वरी श्रेष्ठ (राघी)ले प्राप्त गरिन्। उत्कृष्ट युनिसेक्स सैलुन (काठमाडौं)को अवार्ड रस्मिलाज फेसियल हाउस, काठमाडौं मलले जित्यो।
उत्कृष्ट ब्युटिसियन ट्रेनिङ सेन्टरको अवार्ड कारा ब्युटिकेयर एन्ड ट्रेनिङ सेन्टर, ललितपुरकी शान्ती शर्माले प्राप्त गरिन्।
कस्मेटिकतर्फ बेस्ट सेलिङ हेयर प्रोडक्टको अवार्ड क्राब बोटेक्स हेयर ट्रिटमेन्ट एन्ड स्याम्पुले जित्दा बेस्ट सेलिङ मेकअप प्रोडक्टको अवार्ड कलर एसेन्स–कलर लिपस्टिकले प्राप्त गर्यो।
नृत्य र सांगीतिक प्रस्तुति
अवार्ड समारोहलाई सांगीतिक र मनोरञ्जनात्मक बनाउन ३६० स्टुडियोका कलाकार र प्रियँसु न्यौपानले नृत्य प्रस्तुत गरे। गायक ओम सुनारले गीत प्रस्तुत गरे।
नेपाल म्युजिक एन्ड फेसन अवार्डको निर्णायकमा अभिनेता तथा मोडल यसराज गराच र गीतकार तथा संगीतकार सुमन पन्डित रहेका थिए भने फेसनतर्फ गोमा अधिकारी धिताल निर्णायक थिइन्।

