‘कबड्डी ५’ टिजर: काजीको बिहेपछि मैयाँको पुनरागमन, विपिन कार्कीले थपे नयाँ रहस्य

काजीको बिहे भयो, तर कथा सकिएन। ‘कबड्डी ५’को टिजरमा विपिन कार्कीको रहस्यमय प्रवेश र मैयाँको पुनरागमनले नयाँ ट्विस्टको संकेत गरेको छ।

चारवटा सिक्वेल सम्म ‘कबड्डी’ले दर्शकहरुलाई एउटै कौतुहलतामा अल्झाइराख्यो – आखिर काजीको बिहे कहिले होला? ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को टिजरले त्यो कौतुहलता उजागर गरिदिएजस्तो देखिन्छ। तर काजीको बिहेसँगै कथा सकिएको छैन, बरु नयाँ उल्झन सुरु भएको छ।

‘कबड्डी’को पहिलो भागमै काजीको बिहेको जोरजाम भएको थियो। मैयाँलाई आफ्नो बनाउने सपना बोकेका काजी विवाहको मुखैमा पुगेर रोकिए। त्यसपछि दोस्रो भागमा पनि उनको प्रेमकै वरिपरि कथा विस्तार भयो, तर घरजमको सपना पूरा भएन।

तेस्रो र चौथो भागसम्म पुग्दा काजीको अविवाहित जीवन नै शृंखलाको एउटा चल्तीको मजाक र कथाको महत्वपूर्ण सूत्र बनिसकेको थियो।

‘कबड्डी ४’लाई निर्माण पक्षले ‘द फाइनल म्याच’ भनेपछि काजीको प्रेमकथाले अन्तिम निष्कर्ष पाउने अपेक्षा गरिएको थियो। तर फिल्म सकिँदासम्म पनि काजीको वैवाहिक जीवनले स्पष्ट दिशा पाएन।

अब पाँचौँ शृंखलाको टिजरले त्यही अधुरो अध्यायलाई नयाँ मोडबाट अगाडि बढाएको छ।

करिब साढे तीन मिनेटको टिजरको सुरुवात नै सुहागरातको तयारीबाट हुन्छ। बीके र छन्त्याल एउटा कोठा सजाइरहेका छन्। सुरुमा त्यो तयारी कसका लागि हो भन्ने कौतुहलता पैदा हुन्छ, तर केहीबेरमै उनीहरू काजी र उनकी नवविवाहित जोडीका लागि कोठा तयार पारिरहेको संकेत मिल्छ।

त्यसपछि टिजरले दर्शकले वर्षौंदेखि पर्खिरहेको दृश्य देखाउँछ – काजीको विवाह भइसकेको छ। तर यहीँबाट ‘कबड्डी ५’को वास्तविक खेल सुरु हुन्छ।

टिजरमा स्पष्ट शब्दमा भनिन्छ, ‘खेल त सकिएकै हो, तर कथा बाँकी छ।’ यही एक वाक्यले पाँचौँ भागको मूल जिज्ञासा खोल्छ। काजीले घरजम त गरे, अब उनको नयाँ वैवाहिक जीवन सहज चल्छ कि फेरि पुरानै प्रेम, दोस्ती र झमेलाले कथा अर्कैतिर मोडिन्छ?

काजी अर्थात् दयाहाङ राईसँगै बीकेका रूपमा विजय बराल र छन्त्यालका रूपमा बुद्धि तामाङको पुरानै केमेस्ट्री टिजरमा फर्किएको छ। उनीहरूको संवाद, उट्पट्याङ व्यवहार र मित्रताको लयले ‘कबड्डी’को परिचित स्वादलाई निरन्तरता दिएको देखिन्छ।

यही परिचित संसारमा विपिन कार्कीको प्रवेशले भने नयाँ रहस्य थप्छ। टिजरमा उनको उपस्थिति छोटो भए पनि प्रभावशाली छ। फरक हाउभाउ र संवाद शैलीसहित देखिएका विपिनको पात्र काजीको नयाँ जीवनसँग कसरी जोडिन्छ भन्ने खुलाइएको छैन। यही गोप्यताले फिल्मको द्वन्द्व कुन दिशामा जान्छ भन्ने उत्सुकता बढाउँछ।

अर्कोतर्फ, सिर्जना गुरुङको पात्र काजीको वैवाहिक जीवनसँग जोडिएर देखिन्छ। तर टिजरको सबैभन्दा ठूलो सरप्राइज अन्त्यमा आउँछ – मैयाँको पुनरागमन।

रिश्मा गुरुङ फेरि मैयाँका रूपमा गाउँ फर्किएको दृश्यले ‘कबड्डी’को पुरानो प्रेमकथालाई फेरि सतहमा ल्याइदिएको छ।

अब प्रश्न बदलिएको छ। पहिले प्रश्न थियो – काजीको बिहे होला कि नहोला? अब प्रश्न बनेको छ – काजीको बिहे भइसकेपछि मैयाँ किन फर्किइन्?

मैयाँको आगमनले काजीको नयाँ गृहस्थीमा असर पार्छ कि उनको भूमिका बिल्कुलै फरक मोडका लागि राखिएको हो भन्ने टिजरले खुलाउँदैन। बरु यही प्रश्नलाई पाँचौँ भागको प्रमुख आकर्षण बनाइएको छ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङसँगै पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाललगायत कलाकार छन्।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ। सञ्जय लामाले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।

‘फाइनल म्याच’पछि पनि कथा बाँकी राखेको ‘कबड्डी’ले पाँचौँ भागमा काजीलाई अन्ततः घरजम त गराएको देखिन्छ। तर विपिन कार्कीको रहस्यमय प्रवेश र मैयाँको पुनरागमनले एउटा कुरा स्पष्ट बनाएको छ – काजीको बिहे भए पनि उनको कथा सजिलै सकिनेवाला छैन।

फिल्म कात्तिक ६, २०८३ अर्थात् October 23, 2026 देखि प्रदर्शनमा आउने तय गरिएको छ।

SUBSCRIBE 👉