
Keki Adhikari and Deepak Raj Giri | Chha Maya Chhapakkai 2
दशैंको फूलपातीमा प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘छ माया छपक्कै २’ले आफ्नो सांगीतिक प्रचार सुरु गरेको छ। फिल्मको पहिलो गीतका रूपमा सार्वजनिक भएको शीर्ष गीत ‘माया छपक्कै’ले रिलिजलगत्तै दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिच्न थालेको छ।
साँझ ५ बजे सार्वजनिक गर्ने तयारी गरिएको गीत प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिला सार्वजनिक भएको थियो। लामो प्रतीक्षापछि गीत आए पनि दर्शकको उत्साह भने कम देखिएन।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेका छन्। धेरैले गीतको संगीत, शब्द र प्रस्तुतिलाई मन पराएको बताएका छन् भने ढिला सार्वजनिक भएको प्रसंगलाई लिएर कतिपयले रमाइलो शैलीमा ‘ढिला आयो, कडा आयो’ भन्दै प्रतिक्रिया जनाएका छन्।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा सार्वजनिक गरिएको पहिलो गीतले ‘छ माया छपक्कै २’को प्रचारलाई थप गति दिएको छ। निर्माण पक्षले फिल्मलाई आगामी असोज ३१ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा ल्याउने तयारी गरेको छ।
कस्तो छ ‘माया छपक्कै’ गीत?
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मको शीर्ष गीत ‘माया छपक्कै’मा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको सामूहिक स्वर सुन्न सकिन्छ।
गीतको शब्द तथा संगीत अभि सुनारले तयार पारेका हुन्। विशाल निरौलाले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले अलङ्कार स्टुडियोमा गरेका छन्।
वाद्यवादनतर्फ समीरण जयुरुको सनाई, रत्न बी.के.को बाँसुरी, भुवन गन्धर्वको रिदम र सञ्जीव बराइलीको गिटार समावेश छ। समूह गायनसँगै विभिन्न वाद्ययन्त्रको प्रयोगले गीतलाई फिल्मको शीर्ष गीतका रूपमा फरक सांगीतिक पहिचान दिने प्रयास गरेको छ।
दीपकराज गिरी ‘राजा’को भूमिकामा
‘छ माया छपक्कै २’मा दीपकराज गिरीले ‘राजा’ नामक केन्द्रीय पात्रको भूमिका निर्वाह गरेका छन्।
फिल्ममा केकी अधिकारी, दीपाश्री निरौला, सनिशा भट्टराई, कर्म शाक्य, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, शारदा गिरी ‘काली आमा’, मेक्सम गौडेल, विष्णु सापकोटा र रबिन्द्र झासहितका कलाकारको अभिनय रहेको छ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन्। दीपाश्री निरौला कलाकार सल्लाहकार हुन् भने रोहित अधिकारी निर्माता छन्। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माताको जिम्मेवारीमा छन्।
फिल्मको छायाङ्कन सुशान प्रजापति, आलोक शुक्ला र विशाल प्रजापतिले गरेका हुन्। बिपिन मल्लको सम्पादन, किरण थापाको नृत्य निर्देशन तथा तुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ।
एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्ट फिल्मका वितरक हुन् भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।
सन् २०१९ मा प्रदर्शन भएको ‘छ माया छपक्कै’पछि आएको यो दोस्रो श्रृंखला हो। पहिलो फिल्ममा पनि दीपेन्द्र लामाको निर्देशन, दीपकराज गिरीको लेखन तथा रोहित अधिकारीको निर्माण रहेको थियो।
पहिलो गीत सार्वजनिक भएसँगै अब ‘छ माया छपक्कै २’को प्रचार अभियानले गति लिएको छ। दशैंको फूलपातीमा हलसम्म पुग्ने फिल्मले आगामी दिनमा थप गीत, भिडियो तथा प्रचार सामग्रीमार्फत दर्शकमाझ आफ्नो उपस्थिति बढाउने अपेक्षा गरिएको छ।


