धरानमा फेरि गुञ्जिनेछन् ९० को दशकका गीतहरु

धरानमा ९० को दशकका लोकप्रिय गीत फेरि प्रत्यक्ष गुञ्जिने भएका छन्। असोज १० गते चार कलाकार एउटै मञ्चमा आउँदैछन्।

‘बिर्सिएका यादहरूले’देखि ‘टाढा जाने प्रियसी’सम्म, धरानका श्रोताका लागि पुराना गीत फेरि प्रत्यक्ष सुन्ने मौका आउँदैछ। ९० को दशकमा धरानको सांगीतिक माहोलसँग जोडिएका कलाकारलाई समेटेर असोज १० गते शनिबार ‘नाइनटिज धरानेज लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ।

सिल्भर इन्टरटेनमेन्टले धरानस्थित भिन्टेज बार एन्ड क्लबमा आयोजना गर्ने कार्यक्रममा सञ्जीव लामा, मनोज मोते, दिलु राई र रोहित मास्केले प्रस्तुति दिने आयोजकले जनाएको छ। सञ्जीव मिक्स मेलोडी ब्यान्ड, मनोज जेलर्स ब्यान्ड र दिलु ओझेल ब्यान्डसँग जोडिएका कलाकार हुन्।

कार्यक्रममा सञ्जीवसँग जोडिएका ‘बिर्सिएका यादहरूले’, ‘सम्झनाहरूलाई अँगाल्दै’ र ‘घुम्दै आउनु धरान बजार’ सुन्न पाइनेछ। मनोजका ‘टाढा जाने प्रियसी’ र ‘हाम्रो जीवन’, दिलुका ‘माछी पर्‍यो माझीको जालैमा’ र ‘उमेरले’, तथा रोहितका ‘मेरी मायालु’ र ‘चिसो चिसो’ पनि प्रस्तुत गरिने आयोजकको भनाइ छ।

यी गीतसँगै धरानको पुरानो सांगीतिक माहोल सम्झाउने साँझ बनाउने तयारी छ। त्यसबेलाका गीत सुन्दै हुर्किएका दर्शकले आफ्ना प्रिय कलाकारलाई फेरि मञ्चमा देख्न पाउनेछन्। नयाँ पुस्ताले पनि धरानको सांगीतिक पहिचानसँग जोडिएका गीत प्रत्यक्ष सुन्ने अवसर पाउनेछ।

सिल्भर इन्टरटेनमेन्टले धरानको कार्यक्रमपछि पूर्वका अन्य सहरमा पनि यसै अवधारणामा सांगीतिक टुर गर्ने तयारी भइरहेको जनाएको छ। टुरका सहर र मिति भने सार्वजनिक गरिएको छैन।

धरानको सांगीतिक पहिचानसँग जोडिएका कलाकारहरूको विशेष प्रस्तुति रहने भएकाले कार्यक्रमलाई ‘९०’s धरानेज ’को सांगीतिक सम्झना र पुनर्मिलनको विशेष साँझका रूपमा समेत हेरिएको छ।

SUBSCRIBE 👉