
Nepali Movie ‘Panch Pandav’ Poster
मल्टिस्टारर नेपाली चलचित्र ‘पाँच पाण्डव’ले आफ्ना पाँच मुख्य पात्रको परिचय गराउँदै फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक पोस्टरमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई महाभारतका पाँच पाण्डवको बिम्बमा प्रस्तुत गरिएको छ।
पोस्टरअनुसार हरिवंश आचार्य युधिष्ठिरको भूमिकामा छन् भने जितु नेपाल भीम बनेका छन्। आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नकुल र सुशील सिटौलालाई सहदेवको रूपमा प्रस्तुत गरिएको छ।
सार्वजनिक पोस्टरमा पाँचै पात्रलाई घोडाले तानिरहेको आकर्षक बग्गीमा देखाइएको छ। हरिवंश अगाडि बसेका छन् भने जितु, आर्यन, महेश र सुशील उनको पछाडि उभिएका छन्। पाँचै पात्रको हँसिलो भावले उनीहरूबीचको एकता, आत्मीयता र भाइचाराको संकेत गर्छ।
निर्देशक वसन्त निरौलाका अनुसार फर्स्टलुकमार्फत चलचित्रका मुख्य पात्र र उनीहरूको लुक्स दर्शकमाझ सार्वजनिक गरिएको हो।
“हामीले सार्वजनिक गरेको पोस्टर दर्शकले पक्कै रुचाउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ । क्यारेक्टर रिभिल गरेका छौँ । हामीले कतै देखिरहेका पात्र र लुक्स भएकाले यी क्यारेक्टर दर्शकमाझ चाँडै लोकप्रिय हुने र सिनेमाप्रति दर्शकको प्रतिक्षा बढ्ने हामीले विश्वास लिएका छौँ,” निर्देशक निरौलाले भने।
‘पाँच पाण्डव’ कात्तिक २० गते अर्थात् नोभेम्बर ६, २०२६ देखि प्रदर्शनमा आउने तयारीमा छ। तिहारको छेको पारेर रिलिज हुन लागेको चलचित्र अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको साउन्ड पक्षलाई पनि निर्माण टिमले विशेष प्राथमिकता दिएको छ। यसको सम्पूर्ण साउन्ड Dolby Atmos प्रविधिमा तयार भइरहेको छ। यसअघि चलचित्रको स्वरांकनसमेत Dolby Atmos स्टुडियोमा सुरु गरिएको थियो।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रको छायांकन झापा र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको हो। चैत २ गतेबाट सुरु गरिएको छायांकन ६६ दिनमा पूरा गरिएको थियो।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पाँच पाण्डव’मा नेपाली चलचित्र क्षेत्रका अनुभवी र नयाँ पुस्ताका कलाकारलाई एउटै पर्दामा ल्याइएको छ।
हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पाँच मुख्य पात्रमा छन्। उनीहरूसँगै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपाने लगायतको पनि अभिनय छ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। प्रस्तुतकर्ता श्रेष्ठ यसअघि चलचित्र ‘लाज शरणम्’ निर्माणसँग पनि जोडिएका थिए।
‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। शीर्षक र पात्रको नामले महाभारतको स्मरण गराए पनि निर्माण पक्षका अनुसार यो धार्मिक वा पौराणिक चलचित्र होइन।
लेखक पौडेलले चलचित्रलाई ‘सोसल ड्रामा’का रूपमा व्याख्या गरेका छन्। चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने बताइएको छ। यही अवधारणाले ‘पाँच पाण्डव’लाई यसको शीर्षक र पात्र संरचनासँगै सामाजिक कथासँग जोड्नेछ।
चलचित्रको छायांकन श्याम तामाङले गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन तथा रङ सम्पादन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ। उत्तम न्यौपानेले साउन्ड डिजाइन, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन्।
रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले चलचित्रलाई देशव्यापी वितरण गर्नेछ।
फर्स्टलुकसँगै पाँच मुख्य पात्रको पहिचान खुलाएको ‘पाँच पाण्डव’ अब कात्तिक २० मा दर्शकमाझ आउने तयारीमा छ।

