
भक्तपुरमा जन्मिएका कुमा सागर आफ्नै सहरका दर्शकमाझ ब्यान्डसहित गुञ्जिने भएका छन्। आगामी मङ्सिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा हुने च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’मा कुमा सागर एण्ड द ख्वपः ब्यान्ड मुख्य आकर्षणका रूपमा रहनेछन्।
लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रूपमा आयोजना गर्न लागेको महोत्सवको घोषणा क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो। आयोजकले यसलाई भक्तपुरमा पहिलो पटक हुन लागेको ठूलो स्तरको च्यारिटी म्युजिक फेस्टिभलका रूपमा प्रस्तुत गरेका छन्।
आयोजकका अनुसार कुमा सागर एण्ड द ख्वपः ब्यान्डले भक्तपुरमै पहिलो पटक प्रस्तुति दिन लागेका हुन्। देश–विदेशका नेपाली श्रोतामाझ परिचित ब्यान्डलाई आफ्नै सहरमा सुन्न पाउने अवसर महोत्सवको विशेष आकर्षण हुनेछ।
कुमा सागरसँगै ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले पनि प्रस्तुति दिनेछन्। फरक सांगीतिक शैलीका कलाकारलाई एउटै मञ्चमा ल्याउँदै महोत्सवले दर्शकलाई संगीतसँगै स्थानीय संस्कृतिको अनुभव दिने तयारी गरेको छ।
महोत्सवमा लाइभ संगीतका अतिरिक्त परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय कला तथा खाना र जीवनशैलीसँग सम्बन्धित स्टल रहनेछन्। भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई संगीतसँग जोड्नु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।

संगीतसँगै सामाजिक सहयोग
महोत्सवबाट प्राप्त व्यावसायिक आम्दानीको ५० प्रतिशत भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था सीबीआरओलाई प्रदान गरिने आयोजकले जनाएको छ। यसमा प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम समावेश हुनेछ।
कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकले दिने प्रत्यक्ष सहयोग रकमसमेत सीबीआरओलाई हस्तान्तरण गरिनेछ।
यसरी ‘म्युजिक जात्रा–ख्वपः’ले कलाकार र दर्शकलाई एउटै सांगीतिक उत्सवमा जोड्दै समुदायका लागि सहयोग जुटाउने लक्ष्य राखेको छ। भक्तपुरको सांस्कृतिक पहिचानसँग जोडिएको ब्यान्डको उपस्थितिले यो आयोजनालाई स्थानीय दर्शकका लागि थप विशेष बनाउनेछ।

