म्याग्लुङमा प्रमोद, प्रकाश र बब्लुको सांगीतिक जमघट, मध्यरातसम्म चल्यो कन्सर्ट

प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुको लाइभ प्रस्तुतिले तेह्रथुमको म्याग्लुङ संगीतमय बन्यो। मध्यरातसम्म चलेको कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजकले जनाएको छ।

ओइ झुमा’देखि ‘गलबन्दी’ र ‘मुस्कान बनी ओँठमा आइदेऊ’सम्मका गीतले तेह्रथुमको म्याग्लुङको साँझ संगीतमय बन्यो। प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु आ–आफ्ना ब्यान्डसहित एउटै मञ्चमा प्रस्तुत हुँदा हजारौँ दर्शकले उनीहरूका चर्चित गीतको लाइभ प्रस्तुति सुन्न पाए।

‘सुरताल म्युजिकल टुर २०८३’ अन्तर्गत आयोजित कन्सर्ट राति करिब १२ बजेसम्म चलेको थियो। आयोजक प्रशान्त सुनारका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए।

प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ र देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे। फरक सांगीतिक शैलीका तीन कलाकारको प्रस्तुतिले दर्शकलाई एकै साँझ विविध गीतको स्वाद दियो।

मञ्चमा प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्यान्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डले लाइभ प्रस्तुति दिएका थिए। लोकप्रिय गीतसँगै ब्यान्डहरूको प्रत्यक्ष वादन कन्सर्टको मुख्य आकर्षण बन्यो।

आयोजकका अनुसार तेह्रथुमबाट सुरु भएको यो सांगीतिक यात्रा सातै प्रदेशका १३ सहरमा पुग्नेछ। तीनै कलाकार आफ्ना ब्यान्डसहित टुरका अन्य कार्यक्रममा पनि प्रस्तुत हुनेछन्।

सुनारले दिएको पछिल्लो तालिकाअनुसार असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट हुनेछ। त्यसपछि मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम तय गरिएको छ।

नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानलगायतका सहरमा पनि कन्सर्ट आयोजना गरिने सुनारले जानकारी दिए।

सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिले स्थानीय आयोजक तथा विभिन्न संघ–संस्थाको सहकार्यमा टुर सञ्चालन गरिरहेको छ। प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुलाई एउटै टुरमा समेटेर सातै प्रदेशमा सांगीतिक कार्यक्रम आयोजना गरिएको यो पहिलोपटक भएको आयोजकको दाबी छ।

SUBSCRIBE 👉