प्रचारप्रसारमा सरी ल


Sorry-Laग्ल्यामर नेपाल, काठमाडौं । आगामी कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सरी ल’ले पत्रकारमाझ तिहारको शुभकामना बाँड्दै प्रचार अभियान शुरु गरेको छ । फिल्म निर्माणसँगै विविध कारणले करिब दुई वर्षसम्म प्रदर्शनमा ढिलाई भएको फिल्म अब चाहिँ प्रदर्शनको लागि तयार भएको निर्देशक ऋषि लामिछानेले बताए ।

कार्यक्रममा गायक शिव परियारले फिल्मको शीर्ष गीत गाउँदा फिल्मकै अभिनेता राजन खतिवडा भने अर्धनग्न शरीरमा आधा कालो र आधा सेतो रंगमा ‘सरी ल’ लेखिएको अक्षर पोतेर कार्यक्रममा देखिएका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले देउँसीको गीत भट्याउँदा अन्य पत्रकार तथा फिल्म युनिटले ‘देउसी रे’ भन्दै रमाइलो गरेका थिए ।

द ब्ल्याक रोज फिल्मस् प्रोडक्सनको व्यानरमा कृष्णबहादुर महर्जनले निर्माण गरेको फिल्ममा सुवास थापा, राजन, अनिता आचार्य, मार्टिन खान, अञ्जु केसी र बालकलाकारका रुपमा रोशनले अभिनय गरेका छन् । अञ्जु केसीको कथा रहेको फिल्ममा बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत, बब्बु थापाको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, रविन्द्र खड्काको सम्पादन र रामशरण उप्रेतीको छायांकन रहेको छ । फिल्मलाई उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

SUBSCRIBE 👉