मराठी र हिन्दी फिल्ममा विशेष भिलेन भूमिकामा अत्याधिक रुचाइएका बलिउड अभिनेता सदाशिव अमरापुरकरको ६४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको संक्रमणले पीडित बनेका उनलाई कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा दुई हप्ता अघि राखिएको थियो । अस्पतालका अनुसार उनी आइसीयूमा भर्ना भएका थिए ।
उनको जन्म सन् १९५० को मे ११ मा भएको थियो । उनी महाराष्ट्रका ब्राम्हण परिवारमा जन्मिएका थिए । उनलाई उनका साथी तथा परिवारले ‘तत्या’ भनेर बोलाउने गर्दथे । उनले सन् १९९१ मा फिल्म ‘सडक’मा नकारात्मक भूमिका निर्वाह गरेकोमा ‘फिल्मफेयर अवार्ड’ प्राप्त गरेका थिए । यसबाहेक त्यही वर्ष फिल्म ‘अर्धसत्य’बाट ‘बेष्ट सपोर्टिङ एक्टर’को अवार्ड पनि भए । उनलाई फिल्म ‘सडक’मा गरेको दमदार अभिनयमार्फत दर्शकले चिन्ने गर्दछन् । यसबाहेक ‘आँखे’, ‘इश्क’, ‘कुली नम्बर वान’ र ‘गुप्तः द हीडन त्रुथ’जस्ता फिल्म पनि दर्शकको मनमा रहने फिल्ममा पर्दछन् ।

