५० औं जन्मदिनमा आइनन् छविकी नम्बर एक हिरोईन


Chabi-raj-Ojha-Shilpa-Pokharel-1ग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म क्षेत्रमा लागेको २५ वर्ष अनि आफ्नो उमेर ठिक दोब्बर ५० वर्ष । यस्तो संयोग कमै फिल्मकर्मीको जीवनमा मात्र आउँछ । नेपाली फिल्म क्षेत्रका प्रख्यात निर्माता छविराज ओझा (जसलाई फिल्मकर्मी र सञ्चारकर्मीहरु ‘बा’ भनेर बोलाउँछन्)ले आइतबार यस्तै संयोगलाई जीवनको महत्वपूर्ण अवसरका रुपमा मनाए । आइतबारबाट आधा शताब्दीको उमेरमा पाइला टेकेका छविले केक काटेर आफ्नो जन्मदिन त मनाए नै त्यही जन्मदिनसँगै फिल्मी करियरको २५ औं वर्षगाँठको अर्को केकलाई काट्न पनि पछि परेनन् ।

आफुले फिल्म क्षेत्रमा भित्र्याएका कलाकार, प्राविधिक तथा निर्देशकदेखि वरिष्ठ फिल्मकर्मीलाई भेला गराएर उनले जन्मदिन र कामको वर्षगाँठलाई भव्य रुपले मनाए । आफुले फिल्ममा भित्र्याएका नायिकाहरु शिल्पा पोखरेल, पुजना प्रधान र रजनी केसीसँगै हाँस्य कलाकार दीपाश्री निरौलाको साथमा २५ वर्षे करियरको केक काट्दा छविले जन्मदिनको केक चाहिँ वरिष्ठ फिल्मकर्मी निर शाह,उद्धव पौडेल,अभिनेता सविन श्रेष्ठ, किशोर खतिवडालगायतसँग मिलेर काटे । छविका अनुसार उनले जीवनमा पहिलोपटक भव्य रुपमा जन्मदिन मनाएका हुन् । चर्चित अभिनेत्री तथा छविकी पूर्व पत्नी रेखा थापा भने कार्यक्रममा उपस्थित भईनन् । छविले रेखालाई जहिल्यै पनि नम्बर एक हिरोईनका रुपमा मिडियामा बताईरहे पनि आफ्नै जन्मदिनमा रेखाको उपस्थिति नभएपछि छविको अनुहारमा खल्लोपना देखिएको थियो ।

Nir-Shah-Chabi-Raj-Ojhaछविले आफू अझै २५ वर्ष फिल्म नगरीमा निरन्तर लागेर कलाकारको ‘हजुरबा’ बन्न चाहेको खुलाए । छविलाई शुभकामना दिँदै वरिष्ठ फिल्मकर्मी शाहले नेपाली फिल्ममा दश जना छवि जन्मिए मात्र फिल्म क्षेत्रको विकास हुने बताए । फिल्म ‘युगदेखि युगसम्म’बाट निर्माता रुपमा फिल्म क्षेत्रमा आएका छविले पछिल्लो फिल्म ‘हवल्दार सुन्तली’ सम्म आइपुग्दा १७ वटा फिल्म बनाइसकेका छन् । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘हवल्दार सुन्तली’ चैत्र २७ गतेबाट अल नेपाल रिलिज हुने कार्यक्रममा घोषणा गरियो ।

कार्यक्रममा छविकै सुपरहिट फिल्म ‘किस्मत’को सिक्वेल ‘किस्मत २’ निर्माणको घोषणा गरियो । जसका निर्देशक श्याम भट्टराई रहनेछन् । यो फिल्ममा कथा र पटकथा पत्रकार सामिप्य तिमिल्सिना र संगीत अर्जुन पोखरेलको रहनेछ ।

SUBSCRIBE 👉