ग्ल्यामर नेपाल, काठमाडौं ।
टिनी बट बीग पिक्चर्स प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको फिल्म ‘हाउ फन्नी’का लागि दुई कलाकार अडिसनबाट छानिएका छन् । हालै राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा गरिएको अडिसनमा फिल्मका लागि शिशिर राणा र विजय तिमिल्सिना छनौंट भएका हुन् ।
फिल्मकी लेखक तथा निर्देशक निलु डोमा शेर्पाले फिल्ममा तीनवटा पात्रको छनौंट अडिसनबाट गरिने भनिए पनि एक महिला पात्रको भने अडिसन नभएको बताईन् । ‘हामीलाई तीनवटा क्यारेक्टर चाहिएको थियो, जसमा ४० जनाले अडिसन दिएका थिए,’निलुले भनिन्,‘फिल्मका लागि ठकुरी बुढोको भूमिकामा शिशिर राणा र लण्ठु लभरका रुपमा विजय तिमिल्सिना छनौंट भएका छन्, महिला पात्रको लागि भने अडिसन दिन कोही आएनन् ।’ उनका अनुसार महिलाको अडिसन सकिएपछि शनिवारबाट फिल्मको छायांकन शुरु हुनेछ ।
फिल्ममा दयाहाङ राई, केकी अधिकारी, निशा अधिकारी, प्रियंका कार्की र अनुप विक्रम शाही प्रमुख भूमिकामा छन् । निर्देशक शेर्पाका अनुसार फिल्मले कमेडीसँगै सामाजिक सन्देश र महिला सशक्तिकरणको पाटोलाई पनि उठान गर्नेछ । फिल्ममा प्रियंका र केकी जासुसको भूमिकामा प्रस्तुत हुँदैछन् । आङ नुरु शेर्पा(फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माताको लगानी रहने फिल्ममा माल्भिका सुब्बा कार्यकारी निर्माता छिन् । फिल्ममा सुरेश अधिकारी, शैलेस सिंह, शलेन्द्र श्रेष्ठको संगीत, सायल श्रेष्ठको कष्ट्युम डिजाइन, शान बस्नेतको लेखन र हरि हुमागाईको छायांकन रहनेछ ।
