ग्ल्यामर नेपाल।
जाडो मौसमको शुरुवातसँगै तराई क्षेत्रमा हुने बढ्दो शितलहरबाट प्रभावित बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कपडासहित अन्य सहयोग गर्न कलाकारले आव्हान गरेका छन्। न्यानो संसार नामक संस्थाले शुक्रबार राजधानीमा फिल्मकर्मीहरुलाई भेला गराई उनीहरुमार्फत सहयोगको आव्हान गरेको हो।

संस्थाकी सदस्य पूर्व मिस नेपाल माल्भिका सुब्बाले नेपालीहरुको दुखमा साथ दिदै उनीहरुलाई सहयोग गरौ भन्ने आह्वान साथ आइतबारबाट पहिलो चरणमा संकलन भएका कपडा तथा कम्मल तराई पुगेर पीडितलाई दिने बताईन्।
अभियानलाई साथ दिन अभिनेत्री निशा अधिकारी झरना थापा, रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, सुरेश दर्पण पोखरेल, सुनिल कुमार थापा, बाबुराम दाहाल, गायिकाहरु कुन्ती मोक्तान, रिमा गुरुङ कार्यक्रमस्थल पुगेका थिए।
आयोजकले पूर्वी तराईका जिल्लामा शितलहरको प्रभाव बढी हुने भन्दै त्यहाँको समुदायलाई चिसो वातावरणबाट जोगाउन कपडा, ब्लाङकेट, कम्मल दिन आग्रह गरेको छ । संस्थाले गत वर्ष ५ हजार कम्मल शितलहर प्रभावीत क्षेत्रमा वितरण गरिएको थियो।
