‘हिटलर’को फस्ट लुक सँगै प्रदर्शन मिति सार्बजनिक


नव नायिका सामिया बर्तौलालाई राणा खानदानकी छोरीको रुपमा देखाऊँदै चलचित्र ‘हिटलर’को फस्टलुक रिलिज गरिएको छ। चलचित्रको प्रदर्शन मिति आऊँदो बर्षको जेठ १२ समेत सार्वजनिक गरिएको छ। लभ स्टोरी तथा कमेडी जनराको यो चलचित्रको फस्ट लुक सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको फस्टलुक एकसाथ सार्वजनिक गरेका थिए। अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ।

चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ। चलचित्रमा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ। मुगु र काठमाण्डौमा यो चलचित्रको छायांकन गरिएको छ।

कार्यक्रममा बोल्दै निर्देशक सौरभ ढकालले भने–‘हिटलर प्रेम र कमेडीको मिश्रणको रुपमा बनेको चलचित्र हो। प्रेम भैसकेपछि आउने विभिन्न समस्यालाई चलचित्रमा देखाइएको छ। दर्शकले, नाम र कथावस्तुको मेल पक्कै पनि चलचित्रमा पाउनुहुनेछ।’

नायक सोहित मानन्धरले यो चलचित्रमा आफू फरक भूमिकामा देखिएको बताए। उनि चलचित्रमा नेवार खानदानको यूवाको रुपमा देखिएका छन्। नायिका सामिया बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको बताइन्। उनले भनिन्–‘यो चलचित्रमा म राणा खानदानीकी छोरीको भूमिकामा छु। चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु मनपरेपछि ‘हिटलर’मा काम गरे।’

SUBSCRIBE 👉