बुसान फिल्म फेस्टिभलमा ‘गुडबाई काठमाडौं’को प्रिमियर


लामो समयदेखि पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘गुडबाई काठमाडौं’ अन्ततः प्रदर्शनका लागि तयार भएको छ। निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्दैछ। यो फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको छ।

बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ। सो अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा रहेका छन्। ‘विन्डो अन एसियन सिनेमा’ शीर्षक अन्तर्गत रहेको प्रतिस्पर्धामा भारत, चीन, जापान, थाईल्यान्ड, अफगानिस्तान, फिलिपिन्स लगायतका देशका फिल्महरु सहभागी रहेका छन्। प्रतिस्पर्धामा विजेता बन्ने फिल्मले दस हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछ।

एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले फरक फरक सपना बाँचेका तीन युवाको कथामा आधारित रहेको छ। फिल्मले राजनीति द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कुरालाई प्रस्तुत गरेको छ।

बुसानमा आउँदो शुक्रबार फिल्मको वल्र्ड प्रिमियर हुँदैछ। निर्देशक नबिन सुब्बा बिहीबार फिल्मको वल्र्ड प्रिमियरकालागि कोरिया उड्ने भएका छन्। उनले विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिएका छन्।

‘बुसान बाहेक अन्य थुप्रै फेस्टिभलमा फिल्म पठाएका छौं। थुप्रै राम्रा फेस्टिभलले चासो देखाइरहेका छन् तर फाइनल भइसकेको छैन। व्यक्तिगत रुपमा भने बुसानमा फिल्मले कस्तो प्रतिक्रिया पाउँछ सोही अनुसार बाँकी फेस्टिभल र नेपाल प्रदर्शनको पनि रणनीति बनाउने छौं,’ सुब्बाले भने।

फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्विका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ। राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन्। फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी छ।

SUBSCRIBE 👉