नेपालका चर्चित रक ब्याण्डहरुको ‘प्रोजेक्ट वान’


नेपालका चर्चित व्याण्डका सदस्यहरु एक भई नयाँ व्याण्डको शुरुवात गरेका छन्। राजधानीमा हालै भेला भएका उनीहरुले नयाँ व्याण्डको रुपमा ‘प्रोजेक्ट वान’ शुरु गरेका हुन्।

यो व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता जस्ता युवामाझ चर्चित व्याण्डहरु आबद्ध छन्। ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन्।

वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । व्याण्डले ‘फेरी उठ्नेछ नेपाल’लाई प्रमुख नारा बनाएको छ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्स तथा व्याण्डका संस्थापक विकेश कायस्थले आफूहरुले नेपालकै संगीतको इतिहासमा सम्भवत पहिलो पटक धेरै व्याण्डलाई एकै स्थानमा समेटेर नयाँ व्याण्ड शुरुवात गरेको दाबी गरे । ‘हामीले अहिले प्रारम्भिक अवस्थामा व्याण्डलाई कसरी अगाडि बढाउने भनेर योजना बनाइरहेका छौं,’संस्थापक कायस्थले भने ‘हामी व्याण्डको पहिलो कोसेलीका रुपमा यही डिसेम्बरको पहिलो हप्तातिर एउटा एल्बम बजारमा ल्याउँदैछौं। त्यसको तयारी सुरु भइसकेको छ।’ उनले पहिलो एल्बम निकाले पछि सन् २०१८ को जनवरीबाट देशका प्रमुख सहरमा कन्सर्ट गर्ने तयारीका साथ काम शुरु भइसकेको बताए।

व्याण्डको गायन समूहका सदस्य रविन एण्ड द रिभ्योलुसनका रविन तामाङले युवा बाहुल्यता रहेको व्याण्डमा आबद्ध हुन पाउँदा खुशी लागेको बताए। ‘नेपालको लागि यो पक्कै पनि नौलो प्रयोग हो। विभिन्न व्याण्डहरु मर्ज भएर एउटा नयाँ व्याण्ड बन्नु साँच्चै हाम्रा लागि पनि गर्वको कुरा हो।’ रविनले भने। व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले विभिन्न इभेन्टको व्यवस्थापन गर्दै आएको छ।

SUBSCRIBE 👉