ग्ल्यामर नेपाल, काठमाडौं । हलिउड र बलिउडको तुलनामा नेपालमा हरर किसिमका फिल्म कमै बन्ने गरेका छन्। हरर किसिमका फिल्म बलिउड र हलिउडमा मात्र हेरेर चित्त बुझाउने नेपाली दर्शकका लागि नेपाली भाषामै हरर स्वादको फिल्म बनाउन केही युवा जुटेका छन्। ‘मृत्यु कुण्ड’ नाम दिइएको उक्त फिल्मको निर्देशन रनधीर श्रेष्ठले गर्दैछन् भने कथा पनि उनकै हो।
बाल्यकालदेखि नै हरर किसिमका फिल्म हेर्न रुची राख्ने उनले त्यही शैलीको फिल्म बनाउन कस्सिएका हुन्। ‘मलाई हरर र भुतका फिल्म अत्यन्तै मनपथ्र्यो, त्यसैको प्रभावको कारण पनि यस किसिमको फिल्म बनाउन लागेको हुँ।’ रनधीरले भने। उनका अनुसार आइतबारबाट सुटिङ शुरु हुने फिल्म चितवनको जंगलमा छायांकन गरिनेछ। ‘जंगललाई मृत्युको पोखरीको रुपमा फिल्ममा प्रस्तुत गर्न लागेका हौं,’उनले भने,‘पैसा लुटेपछि जंगल पसेका सात युवाको कथा फिल्ममा प्रस्तुत गरिएको छ, षडयन्त्र र सस्पेन्स फ्लेबर फिल्ममा पाइनेछ।’
रस प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अक्रम लामा, प्रजिन गुरुङ, सागर महर्जन, अनिल भुषाल, शरण शाह र प्रकु पाण्डेको प्रमुख भूमिकामा अभिनय रहनेछ। निर्देशक श्रेष्ठले फिल्मका लागि तीन वर्षदेखि वर्क आउट गरेको बताए। ‘फिल्मका लागि चितवन नै पुगेर डमी सुट पनि गरेका थियौं, त्यसै अनुसार काम गर्ने भएकाले फिल्म राम्रो बन्ने आशा छ।’ निर्देशक श्रेष्ठले भने।
फिल्ममा जिम्मी राई र मानव सुवेदीको गीत रहनेछ। कुल ६० लाखको लगानीमा निर्माण हुने फिल्ममा प्रसुन सिन्धुलियाको पटकथा, रनधीर र प्रसुनको सम्पादन र रनधीरकै छायांकन रहनेछ।
Watch Video Clip – Mrityu Kunda – a Film by Randhir Shrestha / A RAS Production