निफमा आदिवासी फिल्मको स्वाद


Nepal International Indigenous Film Festival

Nepal International Indigenous Film Festival

ग्ल्यामर नेपाल, काठमाडौं । आगामी जेठ २९ देखि ३१ गतेसम्म राजधानीको राष्ट्रिय सभागृहमा इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)ले आयोजना गर्न लागेको ‘आठौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ)’मा १९ देशका ४८ फिल्मले सहभागिता जनाउने भएका छन्। फेस्टिभलमा आदिवासी जनजाति सम्बन्धी विश्वका सबै विषयवस्तुका फिल्म, सर्ट फिल्म, वृत्तचित्र, एनिमेसन फिल्म एवं म्युजिक भिडियो प्रदर्शन हुनेछन्।

फेस्टिभल निर्देशक सञ्जोग लाफा मगरका अनुसार फेस्टिबलमा सहभागिता जनाउनका लागि आव्हान गर्दा यस पटक २७ देशका १ सय ३ फिल्मले आवेदन दिएका थिए। तीमध्येबाट १८ देशका ३६ छोटा लामा फिल्म चयन गरिएको हो। ल्याटिन अमेरिका लक्षित फेस्टिभलमा पहिलो जापानी आदिवासी समुदाय आइनु सम्बन्धी वृत्तचित्र ‘आइनु पाथ वेज टु मेमोरी’, मलेसियाको आदिवासी समुदाय दुसुन सम्बन्धी ‘द संकन ग्रेभ्स’, पाकिस्तानको आदिवासीबारेको ‘द कलस एन्ड द क्रिससेन्ट’ लगायतका फिल्म र वृत्तचित्र देखाइने मगरले जानकारी दिए। फेस्टिबलमा ल्याटिन अमेरिकाका मात्र ७ देशका १५ फिल्म छानिएका छन्।

आयोजकका अनुसार नेपालबाट प्राप्त १३ जाति जनजातिका २७ छोटा लामा फिल्म, वृत्तचित्र र म्युजिक भिडियोमध्ये तामाङ, लिम्बू, मगर, थारु, राई, गुरुङ र थकाली गरी सात जनजातिका फिल्म छानिएका छन्। जर्मनका सिनेकर्मी होल्जर रिडेलले बनाएको मुस्ताङका थकाली समुदाय सम्बन्धी ‘३६० डिग्री जीईओ: रिपोर्ट स्केप फ्रम द माउन्टेन्स’ र न्युयोर्कमा बसोबास गर्दै आएका कोलम्बियाली मूलका फिल्मकर्मी कार्लोस गोमेजले लिम्बू समुदायमाथि निर्माण गरेको ‘मिसेक’ वृत्तचित्र पनि फेस्टिबलमा देखाइनेछ। निर्देशक रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘कबड्डी’ र अशोक थापा मगर निर्देशित ‘द कोरियन ड्रिम’ पनि विशेष महत्वका साथ प्रदर्शन गरिनेछ।

SUBSCRIBE 👉