फिल्मी कोरियोग्राफीमा प्रियंकाको फड्को


Priyanka-karkiग्ल्यामर नेपाल, काठमाडौं। नेपाली रजतपटमा आशलाग्दी कलाकारको रुपमा उदाएकी नायिका प्रियंका कार्कीले आफुलाई केबल नायिकाको रुपमा मात्र फिल्म उद्योगमा सीमित राखेकी छैनन् । गत जेठ २ गतेबाट प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर शैलीको फिल्म ‘आवरण’को शीर्ष गीतमा स्वर दिएकी प्रियंकाले साउन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पुन्टे परेड’मा कोरियोग्राफीको भूमिका निभाएकी छन्।

हाल प्रदर्शन भईरहेको फिल्म ‘मेरो बेष्ट फ्रेण्ड’बाट अभिनयमा डेब्यु गरेकी यी नायिकाले ‘पुन्टे परेड’मा आशलाग्दा नायक संयम पुरीलाई नचाएकी हुन्। तीनवटा मात्र गीत रहेको ‘पुन्टे परेड’मा प्रियंकाले ‘कक्टेल जवानी’ बोलको आइटम गीतमा संयम, निलु डोमा शेर्पा र रविन्द्र खड्कालगायतलाई नृत्य गराएकी छन्। त्यसो त प्रियंकाले रिलिजको तयारीमा रहेको फिल्म ‘मिसन पैसा २’को दुई गीतमा पनि कोरियोग्राफी गरेकी छन्,जसमा एउटा गीतमा प्रियंका र अर्को गीतमा नायिका निशा अधिकारीलाई नृत्यरत अवस्थामा देख्न सकिन्छ।

Priyanka-karki-2हाल फिल्म ‘फन्को’को छायांकनमा व्यस्त प्रियंकाले आफुलाई सानैदेखिको नृत्य र गायनमा सोख भए पनि उक्त सोखलाई अहिले आएर पुरा गरेको बताईन्। ‘गायन र नृत्य सिके पनि कामको व्यस्तताका कारण त्यसलाई निरन्तरता दिन सकिन, अहिले आएर त्यो कामलाई पुरा गर्दैछु।’ ‘पुन्टे परेड’मा विशेष भूमिकामा देखिएकी नायिकाले भनिन्।

फिल्मका निर्देशक सुवास कोइरालाले प्रियंकाको गायकी झैं कोरियोग्राफी पनि चित्तबुझ्दो भएको प्रतिक्रिया दिएका छन्। कोइरालाले प्रियंकाको गायकी र कोरियोग्राफी खुबी देखेर नै आफुले ‘आवरण’ र ‘पुन्टे परेड’मा उनलाई ‘ब्रेक’ दिएको बताए। फिल्म ‘आवरण’ मा पनि कोइरालाकै निर्देशन छ। हरि महत, सुरज कोइराला र अनिल अधिकारीको संयुक्त लगानी रहेको फिल्ममा संयमले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी नायिका एञ्जिला दाहालसँग रोमान्स गरेकी छन्। फिल्ममा गीता अधिकारीको पनि अभिनय रहेको छ। फिल्ममा निलु डोमा शेर्पाको कथा र सान बस्न्यातको पटकथा तथा सम्वाद रहेको छ।

SUBSCRIBE 👉