राजधानीमा आदिवासी फिल्मको कुम्भमेला


Nepal-International-Indigenous-Film- Festival-2014 (9)ग्ल्यामर नेपाल, काठमाडौ । विश्वमा छरिए रहेका आदिवासी जनजातिहरुको कला, संस्कृति सम्बद्र्धन गर्दै त्यसको प्रचारप्रसार गर्ने हेतुले राजधानीमा आदिवासी जनजातिका फिल्मको कुम्भमेला ‘नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव २०७१(निफ)’बिहीबारबाट राजधानीमा शुरु भएको छ। इन्डिजिनियस फिल्म अर्काइभ(आइफा)ले आयोजना गरेको आठौं संस्करणको तीन दिने कुम्भमेलामा यसपटक नेपालसहित नेपालसहित विश्वका १८ देशबाट आएका आदिवासी जनजाति सम्बन्धी फिल्मले प्रतिष्पर्धा गर्दैछन्।

महोत्सवको उद्घाटन गर्दै संस्कृतिविद सत्यमोहन जोशीले नेपाल विविध जातजातिको थलो भएकाले पनि विश्वमा यसको छुट्टै महत्व रहेको बताए। उनले नेपालमा आदिवासी जनजातिको महत्वलाई नबुझ्नु र एकअर्काको अस्तीत्वलाई स्वीकार्न नसक्नु ठूलो बिडम्बना रहेको जनाए। जोशीले महोत्सवका निर्णायक भारतीय फिल्मकर्मी जे एल भारद्वाज, जापानी फिल्मकर्मी एवं फिल्म सम्पादक मिजोगुची नाओमी रसञ्चारकर्मी अनिता गुरुङलाई खादा लगाएर सम्मान गरेका थिए। कार्यक्रममा उनले अन्तर्राष्ट्रिय आदिवासी सम्बन्धी पुस्तक पनि सार्वजनिक गरेका थिए। नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजाति सम्बन्धी फिल्मको प्रदर्शनले आदिवासीको एकतालाई झल्काउने दाबी गरे।

राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमको शुभारम्भ ब्राजिलियन सर्ट फिल्म ‘अनर्स अफ द वाटर’बाट गरिएको छ। लाउरा आर ग्राहाम, डेभिड हर्नान्डेज पाल्मर र काइमी वाइआसीले संयुक्त रुपमा निर्देशन गरेको ३४ मिनेटको फिल्मले पानीको स्रोतको मालिक बन्नका लागि आदिवासीले गरेको संघर्षलाई प्रस्तुत गरेको छ। महोत्सव उद्घाटन स्थलबाहिर विभिन्न आदिवासी संस्कृति झल्काउने प्रस्तुति दिईएको थियो।

आयोजक समितिका अध्यक्ष सञ्जोग लाफा मगरका अनुसार महोत्सवमा ३६ वटा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म देखाइनेछन्। महोत्सवमा तामाङ, लिम्बु, मगर, थारु, राई, गुरुङ र थकाली गरी सात जनजातिका १२ ओटा छोटा लामा फिल्म, वृत्तचित्र एवँ म्युजिक भिडियो देखाइनेछ। आयोजकका अनुसार महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट फिल्मले ‘गोल्डेन ड्रम’, द्वितीयले ‘सिल्भर ड्रम’, तृतीयले ‘ब्रन्ज ड्रम’, जुुरी अवार्ड प्राप्त फिल्मले पनि ‘ब्रन्ज ड्रम’ प्राप्त गर्नेछन्। नेपाली पानोरमा सिनेमा अन्तर्गत उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ र नेपाली पानोरमा अन्तर्गत नै प्रोत्साहन पुरस्कार प्राप्त सिनेमाले २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्।

कार्यक्रम उद्घाटनको तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस 

SUBSCRIBE 👉