दीपशिखाको खुशी हुँदा सार्वजनिक


काठमाडौं– भारतको उडिसामा निर्माण हुने उडिया भाषाका चलचित्रकी लोकप्रिय गायिका दीपशिखा पछिल्लो एक दशकदेखि नेपालमा रहेर नेपाली गीत–संगीतमै सक्रिय छिन् । झण्डै एक दर्जन नेपाली गीत गाइसकेकी यी गायिका भरखरै मात्र एउटा नयाँ आधुनिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । दीपशिखाको स्वरको ‘खुशी हुँदा…’ गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको हो ।

विशाल भण्डारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी तथा मोडल जीवन भट्टराईको रोमान्टिक जोडीलाई चित्रण गरिएको छ । प्रसिद्ध संगीतकार हरि लम्सालद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु विद्या अनामिका तिवारीले रचना गरेकी हुन् । सचिन सिंहले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारी तथा उनको समुहले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । हाइलाइट्नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

लामो समयदेखि वीरगञ्जमा बसोबास गर्दै आइरहेकी गायिका मिश्र गायन कलालाई निरन्तरता दिनु पर्छ भन्ने सोचर नेपाली गीत गाउन थालेको बताएकी छिन् । छ वर्षको उमेरमै पहिलो पटक अल इन्डिया रेडियोमा भक्ति संगीतमा आधारित गीत रेकर्ड गराएकी गायिका मिश्रले त्यसयता नेपाली, हिन्दी, उडिया, बाङ्ला तथा संस्कृत भाषाका गरी झण्डै एक सय भन्दा बढि गीत रेकर्ड गराइ सकेकी छिन् ।

SUBSCRIBE 👉